कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–१ गडीगाउँस्थित एक मेगावाट क्षमताको जलविद्युत् शिलान्यास गरिएको छ।
चुकेनी खोला विद्युत् सहकारी संस्थाले निर्माण गर्न लागेको नौ सय ९८ किलोवाट (करीब एक मेगावाट) को चुकेनी खोला साना जलविद्युत् आयोजना कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले शिलान्यास गरेका छन्।
आयोजना शिलान्यास गर्दै भण्डारीले दुर्गमका जनताका लागि उत्पादित विद्युत् कोसेढुङ्गा सावित हुने बताए। “विद्युत् पूर्वाधारको सबैभन्दा महत्वपूर्ण आधार हो, यसले अब जुम्लालाई अँध्यारो युगबाट मुक्त गर्ने छ”, उनले भने।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले शुरु गरेको नेपालकै पहिलो जलविद्युत् आयोजनाले नागरिकको आर्थिक स्थितिमा अपेक्षित सुधार आउने उनले बताए।
चुकेनी खोला विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले सरकारले मूल्य अभिवृद्धिमा छुट दिएकाले आयोजनाको ४७ करोडमा सम्पन्न हुने बताए।
“छ वर्षको निर्वाध प्रयासले विद्युत् आयोजनाको शिलान्यास गर्न सफल भएका छौँ”, अध्यक्ष बुढाले भने, “अब एक वर्ष छ महीनामा आयोजना सम्पन्न गराइछाड्छौँ।”
अध्यक्ष बुढाका अनुसार सो आयोजना निर्माणका लागि एशियाली विकास बैंकको रु २८ करोड ४४ लाख ३० हजार लगानी छ।
स्थानीयवासीको दुई करोड ६० लाख तथा गाउँपालिकाको ३० लाख शेयर लगानी, कृषि विकास बैंक जुम्लाबाट पाँच करोड ऋण, प्रदेश सरकारको एक करोड र दलित जनजातिलाई थप अनुदानवापत २८ लाख २८ हजार आयोजनालाई प्राप्त भएको छ।
मूलतः यसरी निर्माण हुन थालेको जलविद्युत् कर्णालीमा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो।
आयोजनाबाट पातारासी, गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका करीब ४९ हजार ३६८ जनसङ्ख्या लाभाविन्त हुनेछन्।

प्रतिक्रिया