समाज


सुन्धाराकै झझल्को दिने पोखराकाे धरहरा

सुन्धाराकै झझल्को दिने पोखराकाे धरहरा

नेपालखबर
माघ २, २०७६ बिहिबार ९:६,

धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ। गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन। तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो।

भूकम्प पश्चात सबैको चासो र चर्चामा रहेको धरहराको अनुभव गराउने उद्देश्यले युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा धरहरा ठड्याइएको छ। महोत्सवका सहभागीका लागि यतिखेर धरहरा नौलो आकर्षण जस्तै बनेको छ। त्यसैले होला पोखरा महोत्सव हेर्न पुगेका गगनगौंडाका हरिप्रसाद सुवेदीलाई धरहरा देख्दा निकै रमाइलो लाग्यो।

भूकम्पअघि आफूलाई मन लागेर पनि काठमाडौँमा घरहरा चढ्ने मौका नमिलेको बताउँदै उनले सक्कली नभए पनि पोखरामा चढेर अनुभव लिएको सुनाए। उनले भने, 'महोत्सवमा धरहरा राखिनुले यहाँ आउने जो कोहीले यसबारे चढेर अनुभव लिन सक्नेछन्।'

महोत्सवका सहभागीलाई काठमाडाैंकै धरहराको झझल्को दिने गरी ४० फिट अग्लो ६ तलाको धरहरा आठ लाखमा एसके साउन्डले निर्माण गरेको हो। धरहराबाट महोत्सवको मञ्च, दर्शक, गतिविधि, अमरसिंह चोक र आसपासको क्षेत्र नियाल्न सकिन्छ।

बुधबार मात्रै सञ्चालनमा ल्याइएकोले पहिलो दिनमा एक हजार दुई सयले चढेर अनुभव लिएको एसके साउन्डका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। धरहरा चढ्न दर्शकले प्रति टिकट ६० रुपैयाँ तिर्नुपर्छ भने ७० वर्ष माथिका र सात वर्ष मुनिकालाई प्रवेश निःशुल्क गरिएको छ।

पोखराको काँहुमा रहेको सामान्य धरहराबाट पोखरा हिमाल र रमणीय बजारको अवलोकन गर्न सकिन्छ। यहाँको उपत्यकाभित्र अन्य ठाउँमा नरहेको र पर्यटकीय नगरीमा एउटा आवश्यक छ है भन्ने सन्देश दिन महोत्सवस्थलमा धरहरा ठड्याइएको गुरुङले बताए।

'महोत्सवका सहभागीलाई धरहराबारे जानकारी र अनुभव गराउनु मात्र नभइ पर्यटकीय नगरीमा यसको आवश्यकता बोध गराउन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराउन यो बनाइएको हो,' उउनले भने। युनाइटेड क्लबले अमरसिंह चौरमा गर्दै आएको महोत्सवमा प्रत्येक वर्ष नयाँ–नयाँ किसिमका गतिविधि समेटिएको क्लबका पूर्व अध्यक्ष एवं अतिथि व्यवस्थापन समितिका संयोजक हिमालय बख्रेलले बताए।

प्रत्येक वर्ष थपिने नयाँ गतिविधि अन्तर्गत यसवर्ष सञ्चालित दशौं संस्करणमा धरहरा चढ्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। महोत्सवकै अवसरमा प्रत्येक वर्ष कहिले बसमा निःशुल्क चिडियाखानाको अवलोकन, कहिले हात्ती तथा कहिले उँट सवार गर्ने व्यवस्था मिलाइएको छ।

महोत्सवका माध्यमबाट क्लबले सामाजिक काममा अग्रसरता देखाउँदै अघि बढेको बताउँदै क्लबका अध्यक्ष लालकाजी गुरुङले वर्षेनी महोत्सवमा दर्शकलाई फरक–फरक शैलीबाट मनोरञ्जन प्रदान गर्दै आएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad