समाज


हज कमिटीका अध्यक्ष भन्छन्-अदालतमा त कोही पनि सत्य बोल्दा रहेनछन्

सानु, केशव र सन्देश जेल जानैपर्ने तर्क
हज कमिटीका अध्यक्ष भन्छन्-अदालतमा त कोही पनि सत्य बोल्दा रहेनछन्

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार १९:२६, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको तर्फबाट जिल्ला अदालत काठमाडौंमा चारदिनदेखि थुनछेक बहस भइरहेको छ। 

गत बुधबारदेखि सुरु भएको बहस चौथोदिनसम्म आइपुग्दा केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरुङ, इन्द्रजित राई, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी र टेकनारायण पाण्डेको तर्फबाट कविलहरुले प्रतिरक्षा गरिसकेका छन्। 

तर अझै पनि आधाभन्दा बढी प्रतिवादीहरुको तर्फबाट वकिलहरुले थुनछेक बहस गर्न बाँकी नै छ।

पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, उनका तत्कालीन निजी सचिव नरेन्द्र केसी, पूर्व सभासद् आङटावा शेर्पा, गोविन्द चौधरी, रामशरण केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरमा हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट बहस हुन बाँकी छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीका तर्फबाट बहसका लागि ६ दिन छुट्याएको छ। 

तर ४ दिन बितिसक्दा पनि आधाको मात्रै बहस सकिएको छ। अब ९ जनाको बहसका लागि इजलासले तोकेको २ दिन मात्रै बाँकी छ। आइतबारको बहसका क्रममा पनि न्यायाधीश न्यौपानेले मंगलबारसम्म सबै बहस सकिसक्न भनेका छन्। 

यो मुद्दामा ३० जनालाई प्रतिवादी बनाइएको छ। तर पक्राउ परेका १८ जना प्रतिवादीका वकिलले मात्रै बहस गर्नेछन्। 

त्यसपछि उनीहरुलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने भन्ने आदेश न्यायाधीश न्यौपानेले दिने छन्। 

यसअघि प्रहरीले अनुसन्धान गर्दा एकअर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका प्रतिवादीहरुले अदालतमा बयान गराउँदा कसुर नै अस्वीकार गरे। कसैले पनि अदालतमा संलग्नता स्वीकार गरेनन्। 

अहिले वकिलहरुको बहस पनि अदालतमा गरिएको त्यही इन्कारी बयानमा केन्द्रित छ। प्रतिवादीका वकिलहरुले आफ्नो पक्ष संलग्न नरहेको बताउँदै उनीहरुको प्रतिरक्षा गरिरहेका छन्। 

यो मुद्दाका १८ जना प्रतिवादीहरु पनि इजलासमा बसेर आफूविरुद्धको र आफ्नो पक्षको बहस सुनिरहेका छन्। 

तर यही मुद्दामा प्रतिवादी बनाइएका हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई भने सहप्रतिवादीका तर्फबाट भइरहेको बहस फिटिक्कै चित्त बुझेको छैन। 

आइतबार निर्धारित समयभन्दा चाँडै इजलास उठेपछि इजलासभित्रै उनले यस्तो गुनासो गरेका हुन्। 

आइतबारको बहस सकिएपछि उनले शरणार्थी नेता रिजाल छेउमा बसेर गुनासो गर्न थाले, ‘अदालतमा त कोही पनि सत्य बोल्दा रहेनछन्?’

उनलाई नक्कली शरणार्थी प्रकरणमा सबै वकिलले आफ्ना पक्षका प्रतिवादी संलग्न नरहेको दाबी चित्त बुझेको छैन। 

उनी भन्छन्, ‘वकिलको पनि कुरा बुझिनसक्नु हुने रहेछ। म त हेर्नुस्, यी सबैलाई जेल हाल्नुपर्छ भन्ने हो। केशव दुलाल, सानु भण्डारी र सन्देश शर्मा त जेल जानैपर्छ। यिनीहरुले कम्ता गरेका छन्। मलाईसमेत फसाए।’

यो प्रकरणमा बिचौलियाहरुले हज किमिटीका अध्यक्षको गाडी प्रयोग गरेर रकम ओसारेको प्रहरीको दाबी छ। 

उनले गाडी दिएको र त्यसैमा शरणार्थी बनेर अमेरिका जाने भन्दै बुझाएको रकम बोराका बोरा ओसार्ने गरेको प्रहरीको दाबी छ। अभियोग पत्रमा पनि त्यही दाबी छ। 

‘पहिले त्यसरी आउँदै गाडी मागेर फसाए, अहिले त मलाई नै चिन्दैनन् रे!’, उनले भने, ‘यी केशव र सन्देशका बुढी (श्रीमती) बिरामी हुँदा भेट्न पनि गएको थेँ। पछि उनीहरुले गाडी मागेकाले दिएँ। यस्तो अपराधका लागि प्रयोग होला भन्ने मलाई थाहै थिएन। म त पूरै निर्दोष छु।’

आफ्नो कानुनी लडाइँको खर्च पनि उनीहरुले नै व्यहोर्नु पर्ने आशय उनको थियो। सानु भण्डारी, केशव दुलाल र सन्देश शर्माले यो कामका लागि भनेको भए गाडी नदिने तर व्यक्तिगत काममा अप्ठेरो पर्‍यो भनेकाले दिएको उनले बताए। 

‘इजलासमा यसरी ढाँटेर यिनीहरु बच्लान् त, यी तीन जना त जेल जानै पर्ने हो। म त त्यही भन्न लगाउने हो’, उनले भने। 

आइतबार अपरान्ह साढे ४ बजे नै इजलास उठेपछि वकिल र प्रतिवादीका गफले इजलास गुन्जिएको थियो। एकले अर्काको कुरा सुन्ने अवस्थै थिएन। मियासँग उनका वकिल पनि थिएनन्। रिजालले अर्का एक व्यक्तिलाई नम्बर टिपाएर त्यसमा फोन गरिदिन आग्रह गर्दैथे। 

यता मियाँ भने त्यहीबेला गुनासो पोख्न थाले। त्यसअघि उनले हिरासतमा अप्ठेरो भएको गुनासो इजलासअगाडि नै पुगेर सुनाए। सरकारका सचिव टेकनारायण पाण्डेको तर्फबाट बहस सकिएपछि अर्का प्रतिवादीका वकिल पनि इजलासमा थिएनन्। 

त्यसपछि न्यायाधीश न्यौपानेले पालैपालो चार जना प्रतिवादीको नाम लिँदै बहसका लागि अगाडि बोलाए। तर सबैले आज बहस नभ्याइएला भनेर वकिल तयार नरहेको जवाफ दिए। बालकृष्ण खाँणका सहयोगी नरेन्द्र केसीले आफ्ना वकिल चितवनबाट गाडीमा आउँदै गर्दा बाटैमा अड्किएक जवाफ दिए।

गोविन्द चौधरी, हरिभक्त महर्जन र लक्ष्मी महर्जनले पनि भोलिमात्रै बहसको पालो आउला भनेर वकिलहरु इजलासमा नरहेको बताए। त्यसपछि न्यायाधीशको असन्तुष्टिबीच इजलास साढे ४ बजे नै उठ्यो।

बहस नहुने भएपछि मियाँ इजलासअगाडि पुगेर आफूहरुलाई दरबारमार्ग बृत्तकै हिरासतमा राख्न आग्रह गरे। ‘हामीलाई टेकुमा त प्रहरीले अमानवीय व्यवहार गर्यो, दरबारमार्ग वृत्तकै हिरासत ठिक छ श्रीमान’, उनले भने। 

उनीहरुलाई शनिबार मात्रै प्रहरीले दरबारमार्गबाट जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा सारेको थियो। 

मियाँसहित शरणार्थी नेता टेकनाथ रिजाल, नरेन्द्र केसी र सन्देश शर्मालाई परिसरको हिरासतमा लगिएको थियो। 

तर परिसरमा प्रहरीले अमानवीय व्यवहार गरेको गुनासो उनीहरुले न्यायाधीश न्यौपानेसामु गरे।

‘दरबारमार्ग वृत्तमा बस्ने ठाउँ पनि ठीक थियो, प्रहरीको व्यवहार पनि राम्रो थियो। तर परिसरमा त प्रहरीले अमानवीय व्यवहार गरे, हामीलाई अमानवीय तरिकाले राखियो’, मियाँले भने। 

उनले त्यहाँको हिरासतमा गइसकेपछि स्वास्थ्यमा समस्या देखिएको बताए। उनको गुनासोपछि न्यायाधीश न्यौपानेले परिसरका डीएसपीलाई बोलाउन भने। तर डीएसपी आइनसकेको अर्का प्रहरीले बताएपछि आएपछि म कहाँ पठाइदिनुस् भनेका छन्। 

उनले भने, ‘ठ‍ीक छ म कुरा गर्छु। तपाईहरु (प्रहरी) मानवीय व्यवहार गर्नुस् न यसरी गुनासो आउने स्थिति नहोस्।’

शरणार्थी नेता रिजालले पनि परिसरको हिरासतमा सासै फेर्न गाह्रो भएको बताए। उनले आफू बिरामीसमेत भएकाले समस्या भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .