समाज


जब इजलासमा प्रतिरक्षा बहस गर्ने वकिल नै भेटिएनन्

न्यायाधीश न्यौपानेले पोखे असन्तुष्टि
जब इजलासमा प्रतिरक्षा बहस गर्ने वकिल नै भेटिएनन्

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार १७:३, काठमाडौँ

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गरिएको करोडौं ठगी प्रकरणमा चार दिनदेखि अभियुक्तहरुको तर्फबाट प्रतिरक्षा बहस भइरहेको छ। 

गत बुधबारदेखि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसका क्रममा आइतबार अधिवक्ताहरुले नेपाल सरकारका सचिव रहेका टेकनारायण पाण्डे र अर्का अभियुक्त सन्दीप रायमाझीको पक्षमा प्रतिरक्षा गरेका छन्। 

आइतबार काठमाडौं जिल्ला अदालतको इजालसमा सुरुमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पुत्र सन्दीपको पक्षमा बहस भएको थियो।

त्यसपछि अधिवक्ता राम घिमिरेले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेको पक्षमा प्रतिरक्षा बहस गरे।

पाण्डेको पक्षमा बहस गर्दै उनले नेपालमा रहेका भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधान गर्न तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि नै प्रश्न उठाए थिए। 

टेकनारायणको पक्षमा वकिलहरुले आइतबार अपरान्ह साढे ४ बजेअघि नै बहस सकेका छन्। टेकनारायणको पक्षमा घिमिरेसहितले बहस सकेपछि अर्का वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको पालो थियो।

तर पूर्वमहान्यायाधिवक्तासमेत रहेका श्रेष्ठ इजलासमा बहसका लागि आएनन्। उनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा पनि प्रतिरक्षा गर्नुपर्ने भएकाले एकै पटक उपस्थित हुने सन्देश पठाए। 

साढे ४ बजेअघि नै बहस सकिएपछि टेकनारायणको तर्फबाट रमनले बहस गर्न बाँकी थियो। तर उनले बालकृष्ण खाँण र टेकनारायणको प्रतिरक्षा बहस एकसाथ गर्ने बताएपछि अरु अभियुक्तको पक्षमा बहस गर्ने वकिल इजलासमा देखिएनन्। 

त्यसपछि बालकृष्ण खाँणका सहयोषी नरेन्द्र केसीको पालो प्रतिरक्षाका लागि निर्धारण गरिएको थियो। 

इजलासबाट न्यायाधीश न्यौपानेले पालोमा रहेका नरेन्द्र केसीलाई प्रतिरक्षाका लागि वकिल ल्याउन भने। तर केसीले इजलासमा उठेर भने, ‘मेरो वकिल चितवनबाट गाडीमा आउँदै हुनुहुन्यो। उहाँ बीच बाटोमै अड्किएर आइनपुगेपछि आज बहस नहुने भयो।’

त्यसपछि इजालसबाट न्यायाधीशले केसीपछि प्रतिरक्षा बहसको पालो रहेका गोविन्द चौधरीको नाम लिए। चौधरीको पक्षमा बहस गर्ने वकिल को हो भनेर न्यायाधीशले सोधे। 

तर चौधरीले पनि भोलि (सोबार) मात्रै पालो आउँछ भनेर अहिले कोही वकिल नबोलाएको जवाफ न्यायाधीशलाई दिए। 

चौधरी पनि वकिल ल्याउन तयार नभएपछि न्यायाधीश न्यौपानेले ललितपुरका हरिभक्त महर्जनको नाम लिए। महर्जनले पनि वकिल नभएको जवाफ दिए। ‘बिहान आउनु भएको थियो, आज पालो आउँदैन भनेर गइसक्नु भयो’, उनले न्यायाधीशलाई जवाफ दिए। 

चारजना बढी अभियुक्तलाई वकिल ल्याउन भनिरहँदा कोही तयार नभएपछि इजलासमा बसह सुन्न बसेका न्यायाधीश न्यौपाने रिसाउन पुगे।

न्यायाधीश न्यौपानेले इजालसमै असन्तुष्टि पोखे। ‘तोकिएको समयभित्र सबै बस्नुपर्छ’, उनले भने, ‘तपाईंहरुसँग सहमति गरेरै यो बहसको तोकिएको समय हो।’ 

उनले बहस सुन्नका लागि आफूले सकेसम्म धेरै समय दिने बताए। ‘म पनि समयमा बस्छु, तपाईंहरु पनि त्यहीअनुसार बस्नुस्’, न्यौपानेले भने, ‘बरु म हात जोडेरै अनुरोध गर्छु। म ६ बजेसम्म पनि बसेर सुन्न तयार छु।’

न्यायाधीश न्यौपानेले प्रतिवादीहरुतर्फ इंगित गर्दै, ‘जे हुन्छ सिस्टममा गर्नुपर्छ, हामीले यसरी अल्झाएर राख्न मिल्दैन’, उनले भने। 

उनले अब चाँडोभन्दा चाँडो यो मुद्दालाई निकास दिनुपर्ने बताए। ‘हामीले यहाँबाट बाटो दिनुपर्छ यहाँबाट आदेश दिएर अर्को बाटो खोलिदिनुपर्छ’, उनले भने, ‘चित्त बुझे बुझ्छ, नबुझे अर्को बाटो खोलिदिने हो।’ 

न्यायाधीश न्यौपानेले यति भनिसकेपछि बहस गर्ने वकिल अभावमा आइतबार साढे ४ बजेअघि नै इजलास उठेको छ। न्यायाधीश न्यौपानेले अन्तिममा यही मंगलबारभित्र बहस सकेर आदेशमा जानुपर्ने बताए। 

‘तपाईंहरुले जसरी पनि पर्सि मंगलबारसम्म बहस सकिसक्नु पर्छ’, उनले भने, ‘भोलि ठ्याक्कै ११ बजे म पनि आउँछु। तपाईंहरु पनि आउनुपर्छ, ११ बजेदेखि बहस थाल्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .