समाज


फोटो पत्रकारहरूका लागि ‘फर्स्ट एड’ तालिम

फोटो पत्रकारहरूका लागि ‘फर्स्ट एड’ तालिम

नेपालखबर
जेठ २४, २०८३ आइतबार २०:५६, काठमाडौँ

सम्पादक समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा फोटो पत्रकारहरूका लागि आयोजित दुईदिने प्राथमिक उपचार (फर्स्ट एड) तालिम सम्पन्न भएको छ।

गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौरस्थित सम्पादक समाज नेपालको भवनमा सञ्चालन गरिएको तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत १० जना फोटो पत्रकारहरूको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, सम्पादक समाज नेपालका उपाध्यक्ष जुनारबाबु बस्नेत, रेडक्रस जिल्ला शाखाका सदस्य नवराज काफ्ले तथा समाजका संरक्षक किरण वैद्यले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे।

तालिममा दुर्घटना, विपद् तथा आपत्कालीन अवस्थाहरूमा आवश्यक प्राथमिक उपचारका आधारभूत सीप, घाइतेको उद्धार, रक्तस्राव नियन्त्रण, हाडजोर्नी तथा चोटपटक व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै सम्पादक समाज नेपालका महासचिव श्यामकाजी डोटेलले फोटो पत्रकारहरू प्रायः सभा, जुलुस, आन्दोलन, विपद् तथा अन्य जोखिमपूर्ण घटनास्थलमा अग्रपंक्तिमा खटिने भएकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताए। उनले फिल्डमा कार्यरत पत्रकार वा उनीहरूका सहकर्मी घाइते भएको अवस्थामा तत्काल प्राथमिक उपचार प्रदान गर्न सक्ने क्षमता विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको उल्लेख गरे।

‘फोटो पत्रकारहरू प्रायः जोखिमपूर्ण परिस्थितिमा काम गर्ने भएकाले आकस्मिक दुर्घटना वा चोटपटक लाग्दा तत्काल प्राथमिक उपचार गर्न सक्ने सीप आवश्यक हुन्छ। यस्तो सीपले घाइतेको अवस्था थप जटिल हुन नदिई सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउन सहयोग पुर्‍याउँछ,’ डोटेलले भने।

प्रशिक्षणपश्चात् सहभागीहरूको तर्फबाट बोल्दै फोटो पत्रकार शम्भु दंगालले वर्तमान परिवेशमा फोटो पत्रकारहरूका लागि फर्स्ट एड तालिम अत्यन्त सान्दर्भिक र आवश्यक रहेको बताए। उनले फोटो पत्रकारहरू सभा, जुलुस, आन्दोलन, विपद् तथा अन्य जोखिमयुक्त घटनास्थलमा सबैभन्दा पहिले पुग्ने भएकाले उनीहरूलाई दुर्घटना वा अन्य अप्रत्याशित परिस्थितिको जोखिम बढी रहने उल्लेख गरे।

‘यस्तो अवस्थामा तत्काल प्राथमिक उपचारका लागि आवश्यक ज्ञान र सीप अत्यन्त महत्वपूर्ण हुन्छ। यस तालिमबाट प्राप्त ज्ञानले पत्रकारहरूलाई आफू तथा आफ्ना सहकर्मीहरूको सुरक्षामा सहयोग पुग्ने विश्वास लिएका छौँ,’ दंगालले भने।

आयोजकका अनुसार फिल्डमा खटिने सञ्चारकर्मीहरूको सुरक्षा तथा आपत्कालीन परिस्थितिमा उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीप आफ्नो पेशागत जीवनमा उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad