नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको गाडी मंगलबार त्रिभुवन विमानस्थलस्थित जहाजको ढोकासम्मै पुगेपछि विवाद भएको छ।
जनकपुरदेखि बुद्ध एयरको जहाजमा त्रिभुवन विमानस्थल उत्रिएका खनाललाई लिन उनको विमानस्थल प्रशासनको अनुमति नै नलिइ जहाजको ढोकानजिकै एप्रोनसम्म पुगेपछि पर्यटनमन्त्रीले पनि चासो दिएका छन्।
उक्त विवाद संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीसम्म पुगेलगत्तै कारबाही प्रक्रिया अघि बढाइएको छ।
मन्त्री किरातीले यस प्रकरणमा चासो देखाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमतिबिना जहाज विमानस्थलको धावनमार्गसम्मै लगेको प्रकरणमा स्पष्टीकरण प्रक्रिया नै अघि बढाएको छ।
यो प्रकरणमा प्राधिकरणका हवाई सुरक्षा विभागका निर्देशक वासुदेव भट्टराईले बुधबार ‘अनुमतिबिना डोमेस्टिक र्याम्प एरिया प्रवेशसम्बन्धमा’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय गौचरलाई बुधबार स्पष्टीकरण सोधेका हुन्। गौचर विमानस्थललाई यस प्रकरणमा यथाशिघ्र स्पष्टीकरण दिन भनिएको छ।
प्राधिकरणले गौचर विमानस्थल कार्यालयलाई सोधेको स्पष्टीकरणमा ‘यससम्बन्धमा के भएको हो? यथाशीघ्र पेस गर्न’ भनिएको छ।
प्राधिकरणले पूर्वप्रधानमन्त्री खनाललाई सरकारले व्यवस्था गरेअनुसार भीभीआईपीको सुविधा दिनु नपर्ने हुँदा पनि उनको निजी गाडी जहाजको ढोकासम्म पुग्नुलाई राष्ट्रिय नागरिक उड्डयन सुरक्षा प्रोटोकलको प्रावधानविपरीत जनाएको छ।
सरकारले भीभीआईपीहरुलाई मात्रै गाडी विमानस्थलसम्म लैजाने सुविधा दिएको छ। सरकारले राजपत्रमा प्रकाशित गरेको विवरणअनुसार भीभीआईपीहरुमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश मात्रै पर्छन्।
त्यसबाहेक खनालसहितका पूर्वप्रधानमन्त्री र भूतपूर्व विशिष्ट व्यक्तिका गाडीलाई जहाजको गेटनजिक एप्रोनमा जान नदिने व्यवस्था गरिएको प्राधिकरणले उल्लेख गरेको छ।

Shares

प्रतिक्रिया