झापाको कनकाईमा नाबालक दुई छोरीले कपाल खौरिएर सेतो बस्त्रमा बाबुको काजकिरिया गरिरहेका छन्।
छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा विभिन्न चर्चा सुरु भएको छ। छोरीले बाबुको काजकिरिया गरेको बिरलै घटना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेका पनि छन्।
बिर्तामोड–२ चैतुवारीका ३९ वर्षीया टीकाराम खनालको पुस १५ गते निधन भयो। उनका छोरा नभएका कारण जेठी छोरी १४ वर्षीया जुनु र कान्छी छोरी आठ वर्षीया जेनीले आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ती दिएर हिन्दूधर्म परम्पराअनुसार काजकिरिया गरिरहेका छन्।
आफ्ना दाजुभाइ नभएपछि बुबाको काजकिरिया गर्ने आफ्नै जिम्मेवारी भएको ठहर गर्दै दिदीबहिनी किरियामा बसेको जुनुले बताइन्।
काजकिरियाको कर्म गराउँदै आएका ब्राह्मण कैलाश न्यौपानेलाई दुर्गापुरस्थित उनको निजी निवासमा सात जनाको समूहमा आएका नकापधारीले छोरीलाई कोरामा राखेर काजकिरिया गराएको भन्दै हातपात समेत गरेको छ।
‘धर्मशास्त्रभन्दा बाहिर गई नियम मिचेर किन छोरीलाई कोरामा राखेको भन्दै छातीमा समाएर हप्काए,’ न्यौपानेले भने, ‘कुनै दाजुभाइ खोजेर काजकिरियामा राख्नुपर्ने भन्दै उनीहरुले दबाब दिए।’
मोटरसाइकलमा आएका ती अपरिचित व्यक्तिमध्ये एक जनाको लामो टुप्पी पनि भएकाले ब्राह्मण समुदायकै समूह आएको हुनसक्ने आफूले अनुमान गरेको न्यौपानेको भनाइ छ।
समाजमा आइपरेको अप्ठ्यारो अवस्थामा मानवीय सहयोग गर्नु आफ्नो दायित्व सम्झेर गरेको काममा विभिन्न धार्मिक सङ्घसंस्थाबाट समेत सहयोग हुनुपर्ने भन्दै न्यौपानेले आफूमाथि भएको आक्रमणका विषयमा दुःख व्यक्त गरेका छन्।
“अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्छ”, जुनुले भनिन्, “बुवाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो।”
बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उनले बताइन्।
खनालको निधनपछि काजकिरियामा दाजुभाइ नहुँदा एकान्तटोल समाज विकास संस्थाले काजकिरियाको लागि सामुदायिक भवन निःशुल्करुपमा उपलब्ध गराएको संस्थाका अध्यक्ष भीम खरेलले बताए।

प्रतिक्रिया