ad ad

समाज


वायु प्रदूषणले बढ्दै दीर्घ रोगी, काठमाडौंमै वार्षिक ५ हजारको मृत्यु (भिडिओ)

‘बिहान-बेलुका प्रदूषणको मात्रा बढी हुन्छ, घरभित्रै बसेर व्यायाम गराैं’

समृद्धा केसी
बैशाख ९ , काठमाडौँ

वीर अस्पतालको चेस्ट युनिटअगाडि हातमा पर्चा समाएर लगातार खोकिरहेकी थिइन् बानेश्वरकी लक्ष्मी तामाङ। उनलाई बिसञ्चो हुन थालेको चार/पाँच दिन भयो। 

सरकारी जागिरे उनी सधैँजसो स्कुटरमै अफिस जाने/आउने गर्थिन्। स्वास्थ्यमा ख्याल नै राख्ने लक्ष्मीलाई एक साताअघि अचानक घरबाट अफिस जाँदा र घर आउँदा आँखा पोल्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या देखिन थाल्छ। 

उनी गर्मीले गर्दा त्यस्तो भइरहेको सोच्छिन्। तर उनको समस्या बढ्दै जान्छ। लगातार खोकी लाग्ने, रुघा र श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन्। फार्मेसीमा गएर केही औषधि पनि खान्छिन्, तर निको नभएपछि वीर अस्पताल आएको उनले सुनाइन्। 

‘चार/पाचँ दिन भयो, निकै खोकी लागिरहेको छ। अफिस पनि जान सकेको छैन’, उनले भनिन्, ‘मलाई अरू बेला पनि सास फेर्न मलाई असहज नै हुन्छ, तर यति बेला त निकै गाह्रो बनाइरहेको छ।’

५३ वर्षीय दिलचन्द दमका बिरामी हुन्। उनी दीर्घ रोगी भएकाले दैनिक औषधि सेवन गर्छन्। जाडो महिनामा दिलचन्दलाई रोगले बढी नै दुःख दिन्छ तर यसपटक  गर्मीयाममा पनि उनलाई रोगले दुःख दिन भने छाडेको छैन। 

डाक्टरलाई जाँच गराएर फर्किन थालेका उनले भने, ‘डाक्टरले अब केही दिन घर बाहिर ननिस्कनु भन्नुभएको छ। बिस्तारै भए पनि बिहान हिँड्ने बानी छ। अब त्यही पनि केही दिन रोकियो।’

लामो समय दम रोगसँग जुधिरहेका उनले केही दिन अघिदेखि भने रोगले निकै च्याप्दै लगेपछि अस्पताल नै आउनुपरेको बताए। 

‘धेरै खोकी लाग्ने र सास फेर्न गाह्रो भएपछि आज अस्पताल आएको हुँ’, उनले भने, ‘डाक्टरले आजाभोलि धेरै प्रदूषण बढेकाले बाहिर हावामा धेरै निस्कँदा रोग बढेको भन्नुभयो। अब केही दिन घरभित्रै आराम गर्छु।’

लक्ष्मी र दिलचन्दको जस्तै समस्या लिएर एक सातादेखि वीर अस्पतालको चेस्ट युनिटमा दैनिक लगभग ५० जना बिरामी आउने गरेको वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. कमलराज थापाले जानकारी दिए। 

वातावरण विभागले एक साताअघि सूचना निकाल्दै देशभरका १४० भन्दा बढी स्थानमा डढेलो लागेका कारण ह्वात्तै प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल गरेको थियो। 

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामीलाई बढी असर गर्ने भएकाले सकेसम्म घरबाहिर ननिस्किन अनुरोध गरेको थियो। 

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर 
सन् १९४८ मा इंग्ल्यान्डमा दमका बिरामी धेरै देखिन थालेपछि अनुसन्धान गरिएको थियो, जसले वायु प्रदूषणका कारण दम हुनेको संख्या बढी देखायो। त्यसभन्दा अगाडि वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरबारे खासै चासो राखिएको पाइँदैन। 

त्यसपछि भने धेरै खोज/अनुसन्धान भएका छन्। जसले प्रस्ट पार्छन्– वायु प्रदूषणले मानव स्वास्थ्यमा धेरै असर गर्छ। त्यसैले विश्व स्वास्थ्य संगठनले हावामा हुने प्रदूषणको मात्रा पीएम २ दशमलव १० र न्यूनतम २५ माइक्रोग्राम हुनुपर्ने  र नेपालमा ४० माइक्रोग्रामसम्म  हुनुपर्ने मापदण्ड तोकेको छ। तर काठमाडौं विश्वभरका प्रदूषित १० सहरमध्ये एकमा धेरैजसो पर्ने गर्छ। 

वायु प्रदूषणले विशेष गरेर श्वासप्रश्वासलाई बढी असर गरेको छाती रोग विशेषज्ञ डा. थापाले जानकारी दिए। 

हावामा भएका विषादीले तत्काल पार्ने असरमा नाक पोल्ने, नाकबाट पानी बग्ने, घाँटी दुख्ने, थकाइ लाग्ने, आँखा पोल्ने, बिझाउने र थकाइ लाग्नेजस्ता समस्या देखिने डा. थापाले बताए। 

‘दीर्घकालीन असरमा सीओपीडी, दमजस्ता दीर्घ रोग लाग्न मद्दत गर्ने र रोग लागेका व्यक्तिलाई जटिल बनाउने सास फुलाउने हुन्छ’, उनले भने, ‘प्रदूषणले मुटुका रोगीलाई असर गर्ने र प्यारालाइसिस समेत गर्ने असर देखिएको छ।’

अस्पतालमा दैनिक छातीसम्बन्धी र दम रोग लिएर डेढ सयको हाराहारीमा बिरामी आउने गरेको डा. थापाले जानकारी दिए। 

‘प्रदूषण बढेपछि चेस्ट युनिटमा आउने बिरामीको संख्या अझ बढिरहेको छ’, उनले भने, ‘त्यसरी अहिले डाटा त निकालेका छैनौँ तर झन्डै एकतिहाइ बिरामी वायु प्रदूषण बढेपछि आइराख्नुभएको छ। खोकी बढ्ने, स्वाँस्वाँ बढ्नेजस्ता लक्षण धेरैमा देखिएको छ।’

विश्व स्वास्थ्य संगठनले वायु प्रदूषणका कारण वर्षमा विश्वभर ७० लाख मानिसको मृत्यु भइरहेको देखाएको छ। २०१९ को तथ्यांक हेर्दा नेपालमा पनि वायु प्रदूषणकै कारण वार्षिक ४२ हजार १ सय जनाले ज्यान गुमाइरहेका छन्। जसमध्ये काठमाडौँमा मात्र पाँच हजार जनाको मृत्यु हुने गरेको छ। 

वायु प्रदूषण सधैँ चिन्ताको विषय 
नेपाल प्रदूषित देश र काठमाडौँ प्रदूषित सहर भएकाले अहिले मात्र नभएर वायु प्रदूषण सधैँ चिन्ताको विषय रहेको सहरी पूर्वाधार तथा वातावरणविज्ञ भूषण तुलाधार बताउँछन्। 

वायु प्रदूषण पहिलेदेखि छ, त्यसमाथि यतिबेला देशभर डढेलोका कारण प्रदूषण अझ बढेकाले सबैलाई गाह्रो बनाएको तुलाधारले बताए। 

‘अहिले डढेलोका कारण प्रदूषण बढेको हो’, उनले भने, ‘तर प्रदूषण सधैँभरि नै छ। आजभन्दा दुई वर्षअगाडि चैतमा प्रदूषण बढेर चार दिन विद्यालय बन्द गर्नुपरेको थियो।’

विश्वभरका सहरहरुलाई हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार एक सातादेखि काठमाडौँ पहिलो, दोस्रो नम्बरमा परिहेको तुलाधारले बताए। 

नेपालमा सीओपीडी (दम) बाट मृत्यु हुनेमध्ये ६६ प्रतिशत कारण वायु प्रदूषण रहेको तुलाधारले बताए। 

‘रसायन मिसिएका हावाका ससाना कण फोक्सोमा मात्र होइन, रक्तसञ्चार प्रणालीमा पनि गइदिन्छ’, उनले भने, ‘जसले मुटुमा असर गर्छ। मुटुको रोगमा मृत्यु हुने ३४ प्रतिशत हात वायु प्रदूषणको छ, अर्को भनेको मस्तिष्काघात हुनुमा पनि ३७ प्रतिशत हात छ।’

वायु प्रदूषण वातावरणीय समस्या मात्र नभएर सार्वजनिक स्वास्थ्यको गम्भीर सवाल भएकाले त्यसलाई मात्र नियन्त्रण गर्न सकियो भने पनि धेरैको ज्यान जोगाउन सकिने तुलाधारको भनाइ छ। 

सरकार र व्यक्तिले के गर्ने? 
वायु प्रदूषणले निम्त्याउने समस्याबाट बच्न सरकार र व्यक्ति स्वयं पनि जिम्मेवार बन्नुपर्ने डा. थापाले जानकारी दिए। 

‘बिहान–बेलुका प्रदूषणको मात्रा बढी हुने भएकाले त्यो समयमा बाहिर निस्कनु हुँदैन’, डा. थापाले भने, ‘अझ एक्ससाइज गर्‍यो भने त हामीले बढी हावा लिन्छौँ, स्याँस्याँ बढी हुन्छ। जसले झन् बढी असर गर्छ। हामीले लगाउने सर्जिकल मास्कले दूषित हावा छेक्न सक्दैन। र, हामीले यो बेलामा घरभित्रै बसेर व्यायाम गर्नुपर्छ।’

यसका लागि सरकारले नीतिगत परिर्वत नै गर्नुपर्ने र गरी पनि रहेको उनले बताए। तर अहिले डढेलोले प्रदूषण बढाइरहेकाले सबै मिलेर कडाइका साथ लागे यसलाई  नियन्त्रण गर्न सकिने उनी बताउँछन्। 

सरकारी निकायहरूले वायु प्रदूषणलाई प्राथमिकतामा राखेर जुन काम गर्नुपर्ने हो, त्यो नगरेको गुनासो तुलाधारको छ। 

‘सरकारले वायु प्रदूषण नियन्त्रण गर्नका लागि कार्ययोजना छ। त्यसमा खर्च गर्नका लागि पैसा पनि छ’, तुलाधारले भने, ‘जनताले नै प्रदूषण कर भनेर एक रुपैयाँ ५० पैसा डिजेल, पेट्रोल खरिदमा दिइरहेका छन्। वर्षमा झन्डै चार अर्ब पैसा उठ्छ। त्यसको सदुपयोग गर्नसक्यो भने पनि वायु प्रदूषण धेरै कम हुन्छ।’

तस्बिर/भिडिओ: सरोज बैजु/नेपालखबर

बैशाख ९, २०८० शनिबार १९:४५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .