समाज


ऐलानी जग्गामा बसोबास मिलाउने प्रलोभन देखाएर ठगी, तीन जना पक्राउ

ऐलानी जग्गामा बसोबास मिलाउने प्रलोभन देखाएर ठगी, तीन जना पक्राउ

नेपालखबर
बैशाख २, २०८० शनिबार २१:२७, काठमाडौँ

बाँकेको जङ्गल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। 

दुर्गम पहाडी जिल्लाबाट थुप्रैको सङ्ख्यामा बाँकेको बैजनाथा गाउँपालिकाको पितमारी नजिकैको जङ्गलमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरुले ठगी गरेका थिए। 

प्रतिव्यक्ति पाँच सयदेखि रु एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झण्डै एक हजार पाँच सयको सङ्ख्यामा पहाडी जिल्लाका विभिन्न ठाउँबाट सुकुम्वासीका नाममा बाँकेको बैजनाथ– २ पितमारीको जङ्गलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।  

नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका–११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका–४ का ३८ वर्षीय मोहनजङ्ग शाह र डोल्पा जिल्ला ठूलीभरी नगरपालिका–७ कि ६० वर्षीय सुनरुपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ।

अदालतलेसमेत आजको उनीहरुको सात दिनको म्याद थप गरेको छ।

जङ्गल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी तिवारीले बताए। ‘केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शङ्कास्पद मानिसको चहलपहल बढेको कुरालाई हामीले विचार गरिरहेका थियौ, सूचनाका आधारमा ती व्यक्तिलाई सुकुम्वासी बनाएर जङ्गल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएका हौँ’, डिएसपी तिवारीले भने।

जाजारकोट, सल्यान, रुकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसलाई झण्डै एक महिना अघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जङ्गल अतिक्रमण गर्न भनि ल्याइएकामध्ये धेरैजसो महिला बालबालिका ज्येष्ठ नागरिक रहेको डिएसपी तिवारीको भनाइ छ। 

उनका अनुसार बस्ती बस्न भनि आएकामध्ये तीन सयभन्दा बढीलाई इलाकाले नै गाडीको व्यवस्था गरेर फर्काइएको छ।

बाँकी आफन्तकोमा नै लुकेर बसेको र उनीहरुको पनि खोजी जारी रहेको उनले बताए। 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले ऐलानी जग्गा पाइन्छ भनेर झुटा आश्वासन दिँदै जनतालाई दुःख दिने र उनीहरुबाट पैसा असुल्ने गिरोहलाई खोजेर काबारही गरिने बताए। 

उक्त गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई पालिका क्षेत्रमा सुकुम्वासीलाई उपलब्ध गराउनका लागि कुनै पनि जग्गा नभएको बताए।

दलालहरुले जग्गा उपलब्ध गराईदिने भनेर केवल ठगीधन्दा गर्ने प्रयास गरेको बताउँदै सबैलाई सचेत रहन अध्यक्ष शाहीले आग्रह समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad