अहिले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज आइतबार दिउँसो २:२० बजे सूचना जारी गर्दै महाशाखाले भनेको छ, ‘यी क्षेत्र तथा आसपासका स्थानमा केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’
यसअघि बिहान ८ बजे मौसम महाशाखाले जारी गरेको प्रक्षेपणअनुसार,
दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति : कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोसी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।
काठमाडौँमा पनि वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षाको सम्भावना छ।
उनले नेपालखबरसँग भने, ‘दिउँसोपछि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
मौसमविद् ढकालका अनुसार दिउँसो २/३ बजेपछि र राति वर्षाको सम्भावना बढी देखिएको छ।
‘उपत्यकाभित्रै पनि कतै सानो त कतै ठुलो वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने।
पानी पर्नुअघि भने काठमाडौँ उपत्यकामा बेलाबेला घाम पनि देखिने सम्भावना रहेको मौसमविद् ढकालको भनाइ छ।
हेर्नुहोस् मंगलबारसम्मकै मौसम प्रक्षेपण

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

आज २३ जिल्लामा बाढीको जोखिम, काठमाडौँ उपत्यकामा ‘अरेन्ज अलर्ट’
बाढी पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका २३ जिल्ला र त्यसआसपासका खाेला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलाई सुन्तला रङ दिँदै आज यी जिल्ला र आसपास बाढीको उच्च जोखिम रहेको जनाएको छ।
यस्तै आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ।
बाढी महाशाखाले सचेत गराउँदै भनेको छ, ‘उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’
हरियो रङ जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत हो भने पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिमको संकेत गर्छ। अनि सुन्तला रङले जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ। रातो रङले चाहिँ नदीको जलसतहले खतरा तह पार गर्ने र बाढीको उच्च जोखिम हुने संकेत गर्छ।


Shares

प्रतिक्रिया