ad ad

समाज


नयाँ वर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने

नयाँ वर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने

नेपालखबर
चैत २८, २०७९ मंगलबार १९:३७, काठमाडौँ

नेपाली नयाँ वर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो। परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते साँझ ठमेलमा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न लागेको जानकारी दिए। ‘नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभित्रको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तुको प्रदर्शनी गर्नुका साथै तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछन्’, अध्यक्ष शर्माले भने। साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम नयाँ वर्षलाई स्वागत गरेर राति १२ः३० बजे समापन हुने परिषद्ले जनाएको छ।

अध्यक्ष शर्माले पछिल्लो समय नेपालमा विदेशी पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै यसले ठमेलका व्यवसायीमा नयाँ आशा जगाएको बताए। परिषद्का महासचिव राजीव पाण्डेले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रूपमा परिचित गराउने नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए। 

महोत्सवले विदेशमा ठमेलको बारेमा सकारात्मक सन्देश जाने उनको भनाइ थियो।

उक्त सडक महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने परिषद्ले अपेक्षा राखेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .