ad ad

समाज


हत्या प्रयासका आरोपी सांसद शाह भन्छन्ः कानुनको शरणमा आउँछु (अडियो)

हत्या प्रयासका आरोपी  सांसद शाह भन्छन्ः कानुनको शरणमा आउँछु (अडियो)

दीपक खरेल
पुस २०, २०७६ आइतबार १३:८,

कपिलवस्तु जिल्ला अदालतले शुक्रबार ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेका सांसद अभिषेकप्रताप शाहले कम्युनिस्ट सरकारले आफूलाई नियोजित रुपमा फसाउन खोजेका दाबी गरेका छन्।

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहले आफू उपचारका लागि भारतमा रहेको बताए।

शाहले आफ्नो हत्याप्रयास गरेको भन्दै राप्रपा केन्द्रीय सदस्य श्यामकुमार मिश्राले उनीविरुद्ध जाहेरी दिएका थिए।

नेपालखबरसँगको टेलिफोन कुराकानीमा उनले जाहेरीकर्ता श्यामकुमार मिश्रा तस्कर भएको आरोप लगाए। मिश्रा र आफ्ना चालकबीच विवाद र झगडा भएको तर सोही विषयमा आफूलाई समेत मुछेर झुठा आरोप लगाएको उनाको दाबी छ।

‘मिश्रा राजस्व विभागले कालो सूचीमा राखेका व्यक्ति हुन, उनले गलत भन्दैमा म कसरी गलत हुन्छु?’ उनले प्रश्न गरे, ‘म उपचारपछि कानुनको शरणमा आउनेछु।’

शाहले कम्युनिस्ट सरकारप्रति विश्वास नभएको बताउँदै कानुन र अदालतले आफूलाई न्याय गर्ने बताए।

‘यो कम्युनिस्ट सरकारले योजना बनाएर मलाई बदनाम गर्न र फसाउन खोजेको हो,’ शाहले भने ‘म जनतामा विश्वास गर्छु, यहीँका जनताले मलाई तीनपटक निर्वाचित गरेका छन्।’

शाहले पुस ५ गते आफ्नै घरमा बोलाई कोठाभित्र थुनेर नसालु पदार्थ सुँघाएर कुटपिट गरेको मिश्राको आरोप छ। शाहले आफ्नो मुखभित्र बन्दुक राखेर ज्यान मार्ने धम्की दिएको र सो क्रममा आफ्नो दाँत समेत हल्लिएको जाहेरीमा मिश्रले उल्लेख गरेका छन्।

उनले आफूसँग बन्दुक नभएको पनि दाबी गरे। ‘मसँग बन्दुक छैन, बन्दुकमा विश्वास पनि छैन,’ उनले भने।

आफू डिसेम्बर ९ देखि नै भारतमा उपचाररत रहेको बताए। आफूलाई भाइरल इन्फेक्सन भएको उनको भनाइ छ।

‘म कुनै नेतासँग दोषी होइन भनेर हारगुहार गर्दिनँ, कानुनी लडाइँ लड्छु,’ शाहले भने।

फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी भएका उनी अहिले कानुनको नजरमा फरार आरोपित हुन्।

मिश्राले शाहविरुद्ध गत बिहीबार इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका थिए। स्थानीय तहको निर्वाचनमा पनि शाहले आफूमाथि कुटपिट गरेको मिश्राको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .