ad ad

समाज


शनिबारदेखि खाली हुने ४ एआईजीका लागि प्रतिस्पर्धामा ११ डीआईजी

शनिबारदेखि खाली हुने ४ एआईजीका लागि प्रतिस्पर्धामा ११ डीआईजी

नेपालखबर
चैत ९, २०७९ बिहिबार २१:९, काठमाडौँ

नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त हुने भएको छ। हालका तीन एआईजी अवकाश हुने र एक जना आईजीपी बन्ने भएपछि चार दरबन्दी रिक्त हुन लागेको हो। 

नेपाल प्रहरीमा जनपदतर्फ ८ जना एआईजीको दरबन्दी छ। बुधबार दर्ज्यानी चिन्ह लगाएका ५ एआईजीमध्ये एक जनालाई सरकारले शुक्रबार आईजीपी बनाउने निर्णय गर्नेछ। आईजीपीको प्रतिस्पर्धामा एआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। 

अरु तीन एआईजी भने शनिबारदेखि अवकाशमा जानेछन्। एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी शनिबारदेखि ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्। 

उनीहरुसँगै तीन डीआईजी मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियार पनि अवकाश हुनेछन्।  उनीहरु सबै आईजीपी धिरजप्रताप सिंहकै ब्याची हुन्। 

त्यसपछि रिक्त हुने ४ एआईजीका लागि ११ डीआईजी प्रतिस्पर्धामा छन्। उनीहरु हालै एआईजीमा बढुवा भएका ५ जनाकै ब्याची हुन्। वसन्त कुँवर र दीपक थापासँगै भर्ना भएका डीआईजीहरु एआईजीका प्रतिस्पर्धी हुन्। 

सँगै डीआईजीमा १७ जना बढुवा भए पनि सरकारले ५ जना एआईजीमा शीर्ष वरीयतामा रहेकालाई बढुवा गरेको छ। तेस्रो नम्बरका डीआईजी अशोक सिंहले उमेर विवादका कारण राजीनामा दिइसकेका छन्। 

डीआईजीमा सातौँ नम्बरमा बढुवा भएका सन्दीप भण्डारीदेखि १७ औँ नम्बरकी किरण राणासम्म एआईजीका दाबेदार छन्। भण्डारीसँगै सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजीको प्रतिस्पर्धामा छन्। 

अहिले एआईजीमा बढुवा नहुनेहरु डीआईजीबाटै अवकाश हुने सम्भावना बढी छ। ३० वर्षे हटेमा भने उमेर रहनेहरु थप सेवामा हुने छन्। 

उनीहरुलाई गत असार दोस्रो साता डीआईजीमा बढुवा गरिएको थियो।   

पहिलो पटक एकभन्दा बढी महिला एआईजी हुनसक्छन्
केही दिनको फरकमा फेरि एआईजी बढुवा हुने भएसँगै नेपाल प्रहरीमा पहिलो पटक एकभन्दा बढी महिला एआईजी हुने सम्भावना देखिएको छ। यसअघि जनपदतर्फ नै किरण बज्राचार्य एआईजी भइसकेकी छन्। उनी आईजीपीका लागि समेत प्रतिस्पर्धामा छन्। 

अब हुने एआईजी बढुवाका लागि एकसाथ तीन महिला डीआईजीहरु प्रतिस्पर्धामा छन्। डीआईजी मीरा चौधरी, दुर्गा सिंह र किरण राणा प्रतिस्पर्धामा छन्। यी तीनमध्ये कम्तीमा एक जना एआईजी बढुवा भए पनि प्रहरीमा एकसाथ २ महिला एआईजी पहिलोपटक हुने छन्। 

यसअघि पूजा सिंह नेपाल प्रहरीमा जनपदतर्फ पहिलो महिला एआईजी भएकी थिइन्। प्राविधिकतर्फ भने आशा सिंह पनि एआईजीमा कार्यरत छिन्। 

सरकारले डीआईजीको वरीयता अनुसार नै एआईजी बढुवा गरे पनि मीरा चौधरीको एआईजी बन्ने सम्भावना बलियो छ। हाल ट्राफिक प्रहरी प्रमुख रहेकी चौधरी बाँकी डीआईजीको तेस्रो नम्बरमा छिन्। 

किरण राणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र दुर्गा सिंह भरतपुर तालिम केन्द्रमा कार्यरत छन्। उनीहरु पनि एआईजी बढुवाका प्रतिस्पर्धी हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .