पश्चिमी न्युन चापिय प्रणालीका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।
हिमपातले जनजीवन प्रभावित बनेको छ। वर्षासँगै सुदूरपश्चिमका बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबारदेखि हिमपात भएको हो। हिमपातसँगै चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ।
बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन्।
पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको कोल्टी, पाण्डुसैन र बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकामा बीचमा पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएको छ। पोरखे लेकमा बाक्लो हिमपात भएको बडीमालिका नगरपालिका–७ का स्थानीय धनलाल पाध्यायले बताए।
यस्तै गौमुल गाउँपालिकाको दहकोट र मानाकोटमा समेत बाक्लो हिमपात भएको सोही गाउँपालिका–१ का वडाध्यक्ष बलबहादुर रोकायाले जानकारी दिए।
सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपात भएपछि विभिन्न रोगकिरा समेत नष्ट भएर जाने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
बाजुराको पूर्वी क्षेत्रका चार स्थानीय तह र तल्लो क्षेत्रका गौमूल गाउँपालिकालगायतका क्षेत्रका विद्यालय हिमपातका कारण पूर्णरूपमा बन्द भएका छन्।
अधिकांश विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ। वर्षा र हिमपातका कारण विद्यालयले सञ्चालन गर्दै आएका परीक्षासमेत प्रभावित भएको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याले बताए।
त्यसैगरी कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ। हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ।
हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ। सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र रानीमत्ता लेकमा हिमपात भइरहेको छ।
हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिटसम्म हिमपात भएको जुम्ला बस्दै आएका नोर्बु लामाले बताए। “हिजोदेखि हिउँसँगै पानी परिरहेको छ। बाहिर निस्कने अवस्था छैन”, लामाले भने।

प्रतिक्रिया