समाज


तुलसीपुरमा सासू–ससुराले नै गरिदिए बुहारीको कन्यादान

तुलसीपुरमा सासू–ससुराले नै गरिदिए बुहारीको कन्यादान

नेपालखबर
फागुन २७, २०७९ शनिबार ७:३०, दाङ

नेपाली समाजमा अझै पनि छोरी र बुहारीबीच विभेद गर्ने सासू–ससुरा धेरै छन्। 

जन्मघर छाडेर कर्मघर पुगेकी बुहारीलाई सासू–ससुरासहित घर परिवारका सदस्यले दाइजो नल्याएको, सन्तान नभएको, छोरा नपाएको जस्ता विभिन्न लान्छना लगाउँदै यातना दिएका घटना पनि बेलाबेलामा सार्वजनिक हुँदै आएका छन्। 

तर, यहि समाजमा पराइ घरबाट आएकी बुहारीलाई पनि आफ्नी छोरीलाई जस्तै माया र अवसर प्रदान गर्ने सासू–ससुरा पनि छन्। 

त्यस्तै मध्येका एक हुन्- दाङ तुलसीपुर- ६ का शिव श्रेष्ठ र बिना श्रेष्ठ। तुलसीपुर उपमहानगरपालिका ६ शिखर कोलोनी निवासी
श्रेष्ठ दम्पतीले दुई दिनअघि बुहारी (छोराकी पत्नी) आरतीलाई छोरीलाई जस्तै घरैबाट विवाह गरेर अन्माएका छन्। 

श्रेष्ठ दम्पतिले बुहारी आरतीको नवलपरासीको बर्दघाट नगरपालिका ५ पालडाँडा निवासी चन्दनध्वज केसीसँग विवाह गरिदिएका हुन्। उनीहरुले बुहारी आरतीलाई आफ्नै छोरीलाई जस्तै कन्यादान गरेर घरबाट अन्माएर पठाएका छन्। 

श्रेष्ठ दम्पतीका छोरा सुविन श्रेष्ठको ६ वर्षअघि ३३ वर्षको उमेरमा निधन भएको थियो। भर्खरै विवाह गरेर पराइ घर पुगेकी आरती त्यतिबेला २३ वर्षकी थिइन्। 

कलिलो उमेरमै पति वियोगमा परेकी आरती विगत ६ वर्षदेखि सासू–ससुरासँगै बस्दै आएकी थिइन्। 

छोराको मृत्युपछि एकल बनेकी बुहारीलाई श्रेष्ठ दम्पतिले छोरीको रूपमा लालनपालन र पठनपाठनमा सहयोग गर्दै आएका थिए। 

सासू–ससुरासँगै बसेर ‘स्टाफ नर्स’ को पढाई पूरा गरेपछि आरतीको विवाह भएको हो। 

छोराको मृत्युपछि एकल बनेकी बुहारीलाई छोरीको रूपमा स्वीकारेर आफ्नै घरबाट अन्माएपछि समाजमा अहिले श्रेष्ठ दम्पतिको प्रशंसा हुन थालेको छ। 

‘आरति हाम्री बुहारी होइनन्, छोरी जस्तै थिइन्,’ बुहारीको कन्यादनपछि शिव श्रेष्ठले भने, ‘उनको उज्वल भविष्यको लागि हामीले उनको पुनः विवाह गरिदिएका हौँ। आरतीको भविष्य सुन्दर होस् भन्ने हाम्रो कामना छ।’


बुहारीलाई पनि छोरीलाई जस्तैगरी पठनपाठनसहित विवाह गरिदिने श्रेष्ठ दम्पतिको यतिबेला तुलसीपुरमा प्रशंसा भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad