ad ad

समाज


वैदेशिक रोजगारीको सपना देखाउँदै एजेन्टको ठगीमा सर्वसाधारण

वैदेशिक रोजगारीको सपना देखाउँदै एजेन्टको ठगीमा सर्वसाधारण

फाइल तस्बिर।


नेपालखबर
फागुन २२, २०७९ सोमबार ८:४३, काठमाडौँ

वैदेशिक रोजगारीमा गएर पैसा कमाउने सपना देख्ने गरेका कतिपय युवा युवती एजेन्टको ठगीमा पर्ने गरेका छन्। उनीहरू आधिकारिक म्यानपावरको सम्पर्कमा नआई घरघरमा पुग्ने एजेन्टको अनेकखाले प्रलोभनमा परेर ठगिने गरेका छन्।
 
कतिपय युवा युवती एजेन्टको मार्फतबाट वैदेशिक रोजगारीको निम्ति विदेश पुगे पनि भने अनुसारको तलब र काम नपाएपछि अलपत्र पर्नु परेको अवस्था छ। केहीलाई भने एजेन्टले ‘आज विदेश उडाइदिन्छु भोलि उडाइदिन्छु’ भन्दै लाखौँ रकम कुम्ल्याएर बेपत्ता भएको पनि उदाहरण प्रशस्त छन्। 

पथरी शनिश्चरे–५ का जीतेन्द्र खत्रीले आफू एजेन्टबाट ठगीमा परेको भन्दै आज    जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा रहेको आप्रवासी स्रोत केन्द्र विराटनगर मोरङमा उजुरी हाले। 

आफूसँग पटक–पटक गरेर चार वर्षअघि मेक्सिको उडाइदिने र आकर्षक काममा लगाइदिने भन्दै एक एजेन्टले रु चार लाख ठगी गरेको खत्रीले बताए। 

आज भोलि मेक्सिको उडाइदिने भन्दाभन्दै चार वर्ष बितेको र रकम पनि फिर्ता नआएको भन्दै खत्रीले आज केन्द्रमा एजेन्ट विरूद्ध ठगीको उजुरी दर्ता गराएका हुन्।

रतुवामाई–७ का जोगेन्द्र ताजपुरिया, बुद्धिराज शर्मा र किशनलाल ताजपुरियालाई एजेन्टले आकर्षक कामको लोभमा महिना दिनअघि मलेसिया उडाएको थियो। तर वहाँहरू हाल मलेसियामा अलपत्र परेका छन्।

न खाना, न  काम पाएको भन्दै एजेन्टका विरूद्ध वहाँका आफन्त सम्पतलालले केन्द्रमा उजुरी दिएका छन्।

नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सुरक्षित आप्रवासन परियोजना (सामी) नेपालको ३९ जिल्लामा स्थानीय सरकारको नेतृत्वमा सञ्चालन भइरहेको छ।

वैदेशिक रोजगारीको क्षेत्रमा सुशासन कायम गर्नु परियोजनाको उद्देश्य रहेको छ। यसै परियोजनाअन्तर्गतको आप्रवासी स्रोत केन्द्रमा आव २०७९÷०८० को साउनदेखि माघ महिनासम्ममा ७९ वटा समस्या दर्ता गरिएका थिए। यी समस्यामध्ये ठगीसम्बन्धी समस्याका ७१ उजुरी परेका थिए। 

वैदेशिक रोजगारीका क्रममा मृत्युसम्बन्धी तीन, अङ्गभङ्गसम्बन्धी चार र एक अन्य समस्या केन्द्रमा दर्ता भएको थियो। केन्द्रले २७ समस्याको समाधान गरेको छ  र रु ६४ लाख ६९ हजार एक सय असुल उपर गर्न सफल भएको छ। 

केन्द्रका स्रोत व्यक्ति सरोजकुमार खनालले वैदेशिक रोजगारीका क्रममा एजेन्टबाट हुने गरेको ठगी, विदेशमा अलपत्र परेको, मृत्युपछि बीमाबाट प्राप्त हुने रकम प्राप्त नभएको समस्या आउने गरेको बताए। 

केन्द्रका अर्का स्रोत व्यक्ति मुना निरौलाले घरघर गएर एजेन्टले वैदेशिक रोजगारीमा पठाइदिने आश्वासनका साथ विभिन्न प्रलोभन दिने गरेको बताए।

निरौलाले आधिकारिक म्यानपावरको माध्यमबाट विदेश जानुपर्ने र यो सिलसिलामा गरिने आर्थिक कारोबार बैंक वा वित्तीय संस्थाको माध्यमबाट मात्र गरिनुपर्ने पनि बताए। उनले वैदेशिक रोजगारीमा जानेले अनिवार्य श्रम स्वीकृति लिएरमात्र जानु पर्ने बताए।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले एजेन्टले सोझासिधा युवा युवतीलाई विदेशको सपना देखाएर ठगी गर्दै तीन महिने भिजिट भिसामा पनि उडाउने गरेको पाइएको बताए। 

उनले आधिकारिकरूपमा नेपालको बाटो प्रयोग गरेर मात्र विदेश जानुपर्ने बताए। 

वैदेशिक रोजगारीका सिलसिलामा भएको विपद् वा ठगीबारे कुनै उजुरी परे तत्कालै त्यसको समाधान निकाल्ने गरी काम अघि बढाउने गरेको पोखरेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .