केही दिनअघि भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीले आज (बिहीबार) देशैभरको मौसममा ठूलै प्रभाव पार्ने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीका कारण आज मुलुकका उच्च पहाडी तथा हिमाली भेगमा मध्यमसम्म हिमपात हुनेछ भने पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यसैगरी पूर्वका समेत एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै भनेको छ : मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो रहिरहने हुनाले सतर्कता अपनाउन अनुरोध छ।
‘हिमपात पश्चिमदेखि पूर्वसम्मैका उच्च पहाडी तथा हिमाली भेगमा हुने सम्भावना छ,’ मौसमविद् राजु प्रधानांगले भने, ‘त्यसैगरी वर्षा पनि देशका जुनसुकै स्थानमा हुन सक्ने सम्भावना छ।’
यो पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्म रहने उनले जानकारी दिए। आइतबारदेखि मात्र यसको प्रभाव कम हुने उनको अनुमान छ।
मौसमविद् प्रधानांगका अनुसार न्यून चापीय प्रणालीबाट विकसित बादल पूर्वसम्मै फैलिएको भए पनि अहिले यसको प्रभाव विशेषगरी पश्चिमी क्षेत्रमा बढी छ। पश्चिमबाट भित्रिने यो प्रणाली बिस्तारै पूर्व सर्ने क्रममा छ र यो अहिले देशको मध्य क्षेत्रसम्म आइपुगेको छ।
मौसमविद् प्रधानांगका अनुसार यो जति जति पूर्व सर्छ त्यति त्यति यसको क्षमता पनि कमजोर हुँदै जान्छ र यो प्रणाली पूर्वबाट बाहिरिन्छ।
काठमाडौंको मौसम कस्तो छ?
मौसमविद्का अनुसार अहिले काठमाडौं उपत्यकामा मौसम सामान्य बदली छ। आज दिनभर राम्रोसँग घाम लाग्ने सम्भावना छैन भने राति हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए।
यसैबीच आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ। मौसमविद् प्रधानांगका अनुसार हिजो काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री रहेकामा आज बढेर ५ डिग्री पुगेको हो। न्यूनतम तापक्रम बढेकाले बिहानीपखको जाडो कम हुने उनले बताए।
मौसमविद्का अनुसार राति आकाशमा बादल लागेपछि बिहान न्यूनतम तापक्रम घट्छ।
तर दिउँसो आकाशमा बादल भएपछि घाम लाग्न पाउँदैन र अधिकतम तापक्रम घट्छ, जसका कारण जाडो बढ्छ।
तराईवासीलाई राहत
पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेयता तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्न छाडेको छ। मंगलबारदेखि नै हुस्सु हटेकाले त्यहाँ पनि न्यूनतम तापक्रम बढेको मौसमविद् प्रधानांगले बताए।
‘तराईवासीलाई राहतै भएको छ,’ उनले भने, ‘बिहान बिहान लाग्ने बाक्लो हुस्सु हटेपछि तराईमा बिहानको कठ्यांग्रिँदो चिसो पनि कम भएको छ।’
तर दिउँसो घाम लाग्न नपाउने भएकाले दिउँसोचाहिँ जाडो नघट्ने उनको भनाइ छ।
उनका अनुसार न्यून चापीयको प्रभाव रहुन्जेल तराईमा हुस्सु/कुहिरो लाग्ने छैन। किनकि आकाशमा बादल भएपछि हुस्सु/कुहिराे नलाग्ने मौसमी प्रक्रिया हो।
यस्तो छ मौसम पूर्वानुमान महाशाखाले गरेको आगामी तीन दिनसम्मको अनुमान :
पुस १७ गते बिहीबार
दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा पूर्वका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ।
पुस १८ गते शुक्रबार
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पुस १९ गते शनिबार
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया