दशरथ रंगशालामा बुधबार साँझ नेपाल भ्रमण वर्षको उद्घाटन भइरहँदा त्यहाँ उपस्थित दशौं हजार मानिसलाई मैदानमा कपडाले छोपेर राखिएका मूर्ती आकारका वस्तु के होलान भन्ने चासो व्यापक थियो।
जब राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मन्तव्यपछि कपडा अनावरण गरिन्, रंगशालामा विभिन्न आकृतिका यतीका मस्टक उज्यालो प्रकाशमा चम्किए। सहभागी सबैका आँखा त्यहीँ परे।
सबैका लागि चासोको विषय रहेको काल्पनिक यतीका मस्कटले रंगशालामा सहभागी स्वदेशी विदेशी सबैको ध्यान खिच्यो। सायद आयोजकले पनि यही चाहेका थिए। त्यसपछि यतीका मस्कटसँग सेल्फी खिच्नेको भीड लाग्यो, फोटो पत्रकारहरूका लागि मस्कटको मात्रै तस्बिर लिन पनि हम्मेहम्मे पर्ने गरी।
Visit Nepal Year 2020 begins... Made it a point to take a selfie with all the VNY2020 Yeti Mascots at the inauguration ceremony!!! Let us all do what we can individually and institutionally to make the year ahead a true showcase year for our Nepal??#VNY2020 #VisitNepal2020???? pic.twitter.com/wtQ7woGeEU
— Anil Shah (@AnilKesharyShah) January 2, 2020बुद्धको आसनमा रहेको यतीको यही काल्पनिक आकृति नेपाल भ्रमण वर्ष २०२० को मस्कट बनेको छ। नेपाल भ्रमण वर्ष सचिवालय यतीका १ सय ८ प्रकारका प्रतिमा निर्माण गरी विश्वका विभिन्न देश पु¥याउने तयारीमा छ। विश्वका लागि कौतुहलको विषय रहेको यतीलाई नेपालको एउटा ब्राण्डका रुपमा विभिन्न देशमा पठाउँदा पर्यटक आकर्षित गर्न सहज हुने विश्वास सचिवालयले लिएको देखिन्छ।
भ्रमण वर्षको राष्ट्रिय कार्यक्रमका संयोजक सुरज वैद्यले यती शब्द नै नेपालबाट शुरु भएपनि नेपाल र विश्वमै यसबारे कम जानकारी भएकाले पनि यतीकै मस्कट तयार गरिएको बताए।

‘नेपालीले नै बिर्सिसकेको अवस्थामा चिनाउनका लागि पनि यतीको मस्कट तयार पारिएको हो, म्याजिकल र मिस्टिकल यो आकृतिले नेपाललाई विश्वभर चिनाउने छ’, बुधबार नेपाल भ्रमण वर्ष उद्घाटन समारोहको क्रममा रंगशालामा भेटिएका संयोजक सुरज वैद्यले नेपालखबरसँग भने, ‘यतीका १ सय ८ प्रकारका मस्कटको प्रतिक निर्माण गरेर विश्वभर पठाउँदै छौं।’
वैद्यले यतीलाई आधात्मिक विषयका रुपमा देखाउन खोजिएको बताए।
‘यतीको बसेको मस्कटलाई पछाडिबाट हे¥यो भने बुद्ध भगवानको आकार आउँछ’, उनले भने, ‘यती हिंस्रक वा डरलाग्दो आकृति नभई शान्तिको प्रतिक हो भनेर देखाउन खोजेका छौं।’

नेपाल भ्रमण वर्ष उद्घाटन हुँदासम्म यतीका २५ वटा मस्कटका प्रतिक निर्माण गरिएको र तीमध्ये दुई वटा भुटानमा पठाइसकेको वैद्यले बताए।‘अमेरिका र बेलायतमा यसै साता एक एक वटा पठाउँदै छौं’, नेपालले यतीको राम्रोसँग ब्राण्डिङ गर्न नसकेको जनाउँदै वैद्यले भने, ‘बरु भुटानले यती हन्ट भनेर पर्यटक तान्ने अभियान चलाएको छ।’
नेपाल भ्रमण वर्ष आयोजक समितिका एक सदस्यका अनुसार असारमा भएको बैठकले यतीलाई भ्रमण वर्षको मस्टक बनाउने निर्णय लिएको थियो।
आयोजक समितिका सदस्य वाशुुदेव कृष्ण शास्त्रीले योगी नरहरिनाथले ‘शिखरिणी यात्रा’ किताबमा बनाएको चित्रको आधारमा चिनियाँ कलाकार ल्याएर यतीका यी मस्कट तयार गरिएको बताए।

‘भगवान शंकरको प्रतिकको रुपमा रहनु भएको यती नेपालको विषय हो भनेर स्थापित गर्न पनि यो मस्कट निर्माण गरिएको हो’, शास्त्रीले भने, ‘योगी नरहरिनाथले शिखरिणी यात्रा किताबमा आफुले यती देखेको भन्दै त्यसको चित्र बनाउनु भएको छ। त्यही चित्रको आधारमा अहिले चिनियाँ कालाकारले यतीको मस्कट तयार गरेका हुन्।’
योगी नरहरिनाथले २०१४ सालमा तिब्बतको मानसरोबर यात्राका क्रममा ऋषितर्पणीको भोलिपल्ट यती देखेको ‘शिखरिणी यात्रा’ किताबमा दावी गरेका छन्। त्यसअघि र पछि पनि बेला बेला हिमाली क्षेत्रमा यती देखिएको वा खोजी भएको दावीहरू आउने गरेका छन्। तर कसैले पनि यतीको ठोस प्रमाण प्रस्तुत गर्न सकेका छैनन्।
पौराणिक ग्रन्थहरुमा उल्लेख भएको यतीको बारेमा पश्चिमा देशहरूमा १९औं शताब्दीदेखि नै चासो रहँदै आएको छ।

नेपाल भ्रमण वर्षका सन्दर्भमा सरकारले यतीलाई एउटा नेपाली ब्राण्डका रुपमा प्रस्तुत गरेको हो। अझ् यतीका १ सय ८ प्रकारका आकृति बनाएर विभिन्न देशमा पठाउने एउटा चाखलाग्दो तयारी पनि गरिएको छ।
यतीका यति धेरै आकृति चाहिँ किन त?
वाशुुदेव कृष्ण शास्त्रीका अनुसार नेपालमा रहेका विभिन्न जातजाति र भाषाभाषीका मानिसले लगाउने भेषभूषाका आधारमा यति धेरै आकृति निर्माण गर्न लागिएको हो।
‘यतीको मस्कटका कुनै आकृति चौबन्दी त कुनै हाकु पटासीमा हुनेछन्’, शास्त्री भन्छन्, ‘यतीलाई नयाँ ब्राण्डिङ गरेर विश्वलाई देखाउन लागेका हौं।’

प्रतिक्रिया