नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको ब्याण्डमा राष्ट्रिय गानको धुनसहित शुरु भएको भ्रमण वर्ष २०२० उद्घाटन कार्यक्रमले अतिथिलाई दशरथ रंगशालामा धेरैबेर टिकाउन सकेन।
मार्चपास लामाे हुँदा दर्शक रंगशालामा बसिरहन रुचाएनन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत मन्तब्य राख्दा झण्डै आधा दर्शक बाहिरिइ सकेका थिए।
कार्यक्रमको शुरुवातमै भ्रमण वर्ष तथा नयाँ वर्षको शुभकामना दिँदै नायक राजेश हमालले शाहसिक पर्यटनको लागि मात्रै नभई नेपाली जनताको मुस्कान हेर्न नेपाल आउन आग्रह गरेका थिए। यस्तै, नेपाली तथा विदेशी अतिथीलाई नेपाल विविधतामा एकता भएको सन्देश दिन विभिन्न ७ धर्मका मन्त्रोच्चारण प्रस्तुत गरिएको थियो। हिन्दु, बौद्ध, किरात, मुस्लिम सहित ७ धर्मका मन्त्रले विश्वमा अमनचयन सहितको शान्तिको कामना गरेका थिए।
दर्शकदिर्घामा बौद्ध धर्मावलम्बी भिक्षुहरुको उल्लेखनीय सहभागिता थियो तर विदेशी अतिथी भने न्यून संख्यामा मात्र उपस्थित थिए। समारोहमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यमको भने बाक्लो उपस्थिती थियो।
उद्घाटन समारोहमा संस्कृति झल्काउने विभिन्न संघसंस्थाका समूहले झाँकी, ब्यानरसहित मार्चपास गरेका थिए। मार्चपासमा आफ्नो जातजातिको पहिरन, संस्थाको ब्यानर, नेपाली बाजागाजा सहितको नेपाली संस्कृति झल्कने गरी प्रस्तुतीहरु गरिएको थियो।
१०० भन्दा बढी संघ/संस्था सहभागी रहेको मार्चपासमा बालबालिका तथा स्कुल कलेज, पर्यटन व्यवसायी, उद्योग व्यवसाय क्षेत्रका संघसंस्थाले नेपालको झण्डासहित सहभागी भएका थिए।
सहभागीहरुले उत्साहित हुँदै ‘नेपाल नेपाल’ भन्दै भ्रमर्ण वर्ष सफल पारौं भन्ने नारा लगाएका थिए। उद्घाटन समारोहकै बीच नेपाली सेनाले ४ वटा हेलिकप्टरबाट नेपाल भ्रमर्ण वर्षको लोगो सहित रंगशाला माथि उडान भरेका थिए। उक्त दृष्य विदेशी अथितिले चाख मान्दै फोटो तथा भिडियो लिएका देखिन्थे।
तर मार्चपास धेरै लामो समय हुँदा अतिथी दशरथ रंगशाला नै छाडेर बाहिर निस्किरहेका देखिन्थे। मार्चपाससँगै ३६५ जना म्युजिसियनको व्याण्ड प्रस्तुति भएपनि त्यसले पनि दर्शकलाई टिकाईराख्न सकेन।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत मन्तब्य राखेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको प्रतिकस्वरुप वत्ति बालेर भ्रमण वर्षको शुभारम्भ गरिन्। सरकारले उत्सवको रुपमा लिएको भ्रमण वर्षमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित रहेनन्।
पर्यटन मन्त्री भट्टराईले नेपालमा स्थिर सरकार रहेको यो अवधिमा नेपाललाई समृद्ध बनाउने एउटा मुख्य कार्यक्रमको रुपमा भम्रण वर्ष रहेको बताए। उनले विदेशी पर्यटकलाई नेपाल प्रकृति, संस्कृति र धार्मिक पर्यटनको लागि उत्कृष्ट गन्तब्य भएको बताए। उनले नेपाल भौगलिक विविधता भएको देश भएकाले सबै मौसममा पर्यटनको लागि उपयुक्त देश भएको बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष सबै नेपालीको सहभागितामा यो वर्ष नेपालकै उत्सवको रुपमा रहने विश्वास व्यक्त गरिन्। उनले नेपाल शाहसिक पर्यटन लागि उपयुक्त भएको बताइन् ।
भ्रमण वर्ष २०२० को मुख्य आकर्षणको लागि १०८ मस्केट निर्माण गरी विश्वभर लैजाने बताइएको छ। भ्रमण सफल पारौं भन्दै पूर्व प्रधानमन्त्रीहरू, पार्टी प्रमुखहरू र सातै प्रदेशका मुख्यमन्त्रीहरूले नेपाल पर्यटकको लागि उत्कृष्ट गन्तव्य भएको भिडियो सन्देश मार्फत बताएका थिए।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चार देशबाट आएका मन्त्रीहरु सहभागि भएका थिए। चीनका वाङ साओफेङ, भारतका प्रह्लाद सिंह पटेल, म्यान्मारको यू ओन माउंग र जमैकाका एडमन्ड ब्राटलटले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने बताएका छन्।
सोही कार्यक्रममा महेश खड्काको शब्दमा रचना गरिएको भ्रमण वर्षको गीत सार्वजनिक गरियो। ‘आउ हेर्न स्वर्ग हाम्रो नेपालमा’ भन्ने बोलको गीत सार्वजनिक गरिएको हो। त्यसबाहेक कार्यक्रममा नेपाली झाँकी सहित नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको विशेष प्रस्तुति रहेको थियो।
नेपाली कलाकारले पर्यटन पर्वद्र्धनसम्बन्धी विभिन्न सांगितिक प्रस्तुति समेत दिएका थिए।

प्रतिक्रिया