केहि दिनअघि पार्टिको सचिवालय बैठकबाट प्रदेश ३ को नाम र राजधानीबारे प्रदेश सांसदहरुलाई निर्देशन दिएका सत्तारुढ नेकपाका शीर्ष नेताहरुले त्यो निर्देशनबाट दायाँबायाँ नभई सोहिअनुसार प्रदेश सभाबाट निर्णय पारित गराउन पुनः आदेश दिएका छन्।
प्रदेशको नाम र राजधानी राख्ने अधिकार प्रदेश सभा र त्यहाँका सांसदको संवैधानिक अधिकार भएको भन्दै कतिपय सांसदहरुले त्यसको अवज्ञा समेत गर्ने जनाऊ दिएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलले पार्टीको प्रदेशका नेताहरुलाई बोलाएर सो आदेश दिएका हुन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्ड तथा महासचिव पौडेलले प्रदेश कमिटिका पदाधिकारीहरुलाई यसअघि सचिवालयले भनेअनुसार प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय प्रदेश सभाबाट पारित गराउन निर्देशन दिएका छन्।
‘केन्द्र हेटौँडा र नाम बागमती राख्ने पार्टीले निर्णय गरेको छ, यसलाई कार्यान्वयन गरेर जानु,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै पार्टीको प्रदेश ३ कमिटिका अध्यक्ष नारायण दाहालले नेपालखबारसँग भने।
सो छलफलमा पार्टीको प्रदेश ३ कमिटिकी इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष दाहाल र सचिव आनन्द पोखरेल लगायत नेता उपस्थित थिए।
तर, पार्टी निर्णयप्रति इन्चार्ज शाक्यले भने असहमति जनाएकी थिइन्। ‘हेटौँडा जान सांसदहरु मान्दैनन्। १३ जिल्लाका लागि हेटौंडा अपायक छ। यस्तो अवस्थामा कसरी पार्टी निर्णय कार्यान्वयन गराउने?’ इन्चार्ज शाक्यले नेतृत्वलाई प्रश्न गरेकी थिइन।
तर नारायण दाहालका अनुसार अध्यक्षद्वय र महासचिवले ‘पार्टी नेतृत्वले सुझबुझपूर्ण तरिकाले निर्णय गरेकाले यसमा सबै सांसदलाई सहमत बनाउन’ आग्रह गरेका थिए।
सोही आधारमा अब नेकपा प्रदेश ३ कमिटिले हेटौँडा र बागमती नाममा सहमति कायम गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्ने भएको छ।
त्यसका लागि प्रदेश संसदीय दलको बैठक पुस १८ र १९ गते राखिएको प्रदेश ३ कमिटिका अध्यक्ष दाहालले जानकारी दिए।
‘यसअघि संस्थागत निर्णय गर्नुपर्याे भन्ने अनि पार्टीले गरेको निर्णयलाई सांसदहरुले नमान्ने भन्ने हुँदैन’, नारायण दाहालले भने, ‘सांसदहरु र केही नेताहरुको विरोध भएपनि अन्त्यमा निर्णय हुन्छ र पार्टीको निर्णय तलमाथि हुँदैन।’
सचिवालयको प्रस्तावित नाम कार्यान्वयन गराएरै जाने योजनासहित बैठक बोलाइएको हो। प्रदेश ३ मा कूल ११० प्रदेश सांसदमध्ये ८० सांसद नेकपाका छन्।
प्रदेशसभाको बैठक आगामी पुस २१ गतेलाई बोलाइएको छ।
सर्वसम्मत पारित गर्ने प्रयास
मुख्यमन्त्री डोरमणि पौडेल निकट एक नेताका अनुसार पुस २२ गते नै प्रदेश ३ को नाम र राजधानीलाई प्रदेश सभाको बैठकबाट पारित गराउने तयारी छ। त्यसका लागि मुख्यमन्त्री पौडेलले विभिन्न नेताहरुसँग छलफल र परामर्श गरेका छन्।
बुधबार पनि मुख्यमन्त्री पौडेल र नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालबीच साेहि निर्णय कार्यान्वयन गर्नेबारे छलफल भयो। दाहालले पार्टीले सिफारिस गरेको नाम पारित गर्न सांसदहरुलाई निर्देशन दिइने जवाफ दिएका थिए।
त्यसपछि उत्साहित भएका मुख्यमन्त्रीले सर्वसम्मत रुपमा प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती राख्ने निर्णय गराउन तयारी गरेका हुन्।
‘पुस २१ गते त्यसबारेमा बहस हुन्छ र २२ गते सकभर मतदान बिनै पारित गराउँछौं,’ मुख्यमन्त्री निकट सांसदले नेपालखबरसँग दाबी गरे।
त्यसो त प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र बागमती नाम राखेर निर्णय गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले नै नेकपाका दुई अध्यक्षलाई निर्देशन दिएको समेत बताइएको छ।
केहीदिनदेखि काठमाडौंमा रहेका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवास पुगेर भेट गरेपछि उनले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई नाम र राजधानीबारे निर्णय गर्न सुझाव दिएको मुख्यमन्त्री निकट एक नेताले नेपालखबरलाई जानकारी दिए।
पुस १३ गते आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौँडा र बागमती नाम राख्ने निर्णय गर्दै प्रदेश कमिटिलाई सोहिअनुसार गर्न निर्देशन दिएको थियो।
सचिवालय बैठकमा माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालले प्रदेश ३ को राजधानी र नामाकरण बारेमा केन्द्रले सहजिकरण सम्म गरे पनि निर्देशन नै दिने निर्णय नगर्न सुझाव दिएपनि त्यसको सुनुवाई नभएको एक नेताले बताए।
बैठकअघि सचिवालय सदस्यहरुलाई दिइएको बैठकको एजेण्डामा अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र सभामुखका लागि उमेदवार चयनको विषय रहेको थियो।
बैठक बस्नुअघि सचिवालय सदस्यहरुले तिनै दुई एजेण्डामा छलफल गर्न गइरहको बताएका थिए। तर, ती दुई विषयमा छलफल नगरी बैठकले प्रदेश ३ को नाम र राजधानीबारे निर्देशन दिएको थियो।
राष्ट्रपति भण्डारीले दिएको सुझाव र मुख्यमन्त्री पौडेलको आग्रहका आधारमा उक्त नाम र राजधानीबारे नेकपाको सचिवालय बैठकले निर्णय गरेको मुख्यमन्त्री पौडेल निकट एक नेताले पुष्टि गरे।
नेकपा प्रदेश ३ कमिटीकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले राष्ट्रपति भण्डारीले प्रदेशसम्बन्धी मामिलामा पहिलेदेखि नै चासो राख्दै आएकी बताइन्। उनले भनिन, ‘राष्ट्रपतिको भूमिकाको बारेमा मैले पहिलेदेखि नै बोल्दै आएकै छु, राजनीतिक निर्णयमा उहाँ चासो राख्नुहुन्छ’, उनले थपिन, ‘मेरो विरुद्ध डोरमणिलाई पनि उहाँले उठाउनुभएको थियो।’
नेकपाको सचिवालय बैठकले गरेको उक्त सिफारिसलाई अधिकांश सांसदहरुले भने असन्तुष्टि जनाएका थिए। उनीहरुले अपायक ठाउँमा रहेको हेटौँडा कुनैपनि हालतमा प्रदेश ३ को राजधानी हुन नहुने कारण देखाउँदै पार्टीको निर्णयलाई मान्न आफूहरु बाध्य नभएको बताएका थिए।
Shares

प्रतिक्रिया