आज देशका केही स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा अपराह्नतिर हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसबाहेक आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (आइतबार बिहान) सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
काठमाडौँ उपत्यकाको तापक्रम
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.७ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। तर यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गरिनेछ।
यसैबीच आज काठमाडौँ उपत्यकामा वर्षा तथा हिमपातको सम्भावना नरहेको जानकारी पनि मौसमविद् अधिकारीले दिए।
Shares

प्रतिक्रिया