समाज


मापसे गरेर स्कुल बस चलाउने एकसहित ८७ जना चालक कारबाहीमा

मापसे गरेर स्कुल बस चलाउने एकसहित ८७ जना चालक कारबाहीमा

फाइल फोटाे


नेपालखबर
फागुन १७, २०७९ बुधबार १६:५७, काठमाडौँ

काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा मापसे गरेर स्कुल बस चलाउने १ जना सहित ८७ जना चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ।  

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आज बिहान गरेको विशेष चेकिङका क्रममा विविध कसुरमा ८७ जना चालकहरू कारबाहीमा परेका हुन्। 

चेकिङकै क्रममा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

बुङमतिस्थित त्रिरत्न माध्यमिक विद्यालयको बागमती प्रदेश–०१–००६ ख ४६ २९ नम्बरका बसका चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ११ का २७ वर्षीय बुद्ध लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

कोटेश्वरमा भइरहेको चेकिङमा लामाले मदिरा पिएर स्कुल बस चलाएको पाईएपछी उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ।

त्यसैगरी अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्ने लगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालकहरू पनि कारबाहीमा परेका छन्।

नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २र२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालकहरू कारबाहीमा परेका हुन्। यसका साथै अन्य विविध कसुरमा पनि ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

सवारी दुर्घटनामा कमी ल्याउन र नियम कानुनको परिपालना गर्ने कार्यमा ट्राफिक प्रहरीले चालेको अभियानमा सम्बन्धित सबैको सहकार्य आवश्यक रहेको पनि प्रवक्ता भट्टले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad