मानव शरीरको सबैभन्दा ठूलो अंगका रूपमा कलेजोलाई लिइन्छ। एउटा वयस्क व्यक्तिको कलेजो लगभग १ दशमलव ३६ किलोग्राम तौलको हुन्छ। मानव शरीरका लागि कलेजोको निकै ठूलो भूमिका छ। परिवर्तित जीवनशैलीका कारण अहिले कलेजोमा विभिन्नखाले समस्या देखिन थालेका छन्। कलेजोमा धेरै देखिने समस्यामध्ये एक हो– लिभर सिरोसिस।
लिभर सिरोसिस भनेको के हो?
कलेजोमा जालो पलाउनु र कडापन आउनु नै लिभर सिरोसिस हो। कलेजो त्यस्तो अंग हो, जो फेरि पलाउन सक्छ। लिभर सिरोसिस हुँदा कलेजो बिस्तारै बिग्रँदै जान्छ।
कलेजोमा जालो पलाउँदै कडा हुनु नै लिभर सिरोसिस हो। यसले कलेजोको नरमपना हटाउँदै कडापनमा परिणत गर्छ।
सिरोसिसले कलेजोको कार्यक्षमता घटाउँछ। बिस्तारै कलेजो र पाचनप्रणाली नलीको बीचमा हुने रक्तनलीमा धेरै चाप परेर फुट्ने र धेरै रगत बग्दा बिरामीको मृत्युसमेत हुनसक्छ।
प्रायः बिरामी कलेजोमा संक्रमण फैलिसकेपछि अस्पताल आउने गर्छन्।

कारण
मोटोपना भएका व्यक्तिको कलेजोमा बोसो जमिरहेको हुन्छ। त्यस्ता व्यक्तिले रक्सी खाए झन् छिटो कलेजो बिग्रिन्छ। चिकित्सकको सल्लाहबिना विभिन्न किसिमका जडीबुटी सेवन गर्दा पनि लिभर सिरोसिस हुने सम्भावना रहन्छ।
हेपाटाइटिस बी भएको लामो समय भएको छ भने पनि कलेजोलाई बिस्तारै कडापनतिर लान सक्छ।
लिभर सिरोसिस हुने अर्को कारण वंशाणुगत पनि हो।
त्यस्तै जोर्नी दुख्नु वा बाथसँग सम्बन्धित रोगले पनि कलेजोलाई असर गर्छ।
लक्षण
कलोजोमा कुनै पनि समस्यामा सुरुवाती चरणमा लक्षण देखिँदैनन्। तर जब रोग बढ्दै जान्छ तब बिरामीमा लक्षण देखिन्छन्।
–सिरोसिस भइसकेको बिरामीमा पटकपटक संक्रमण हुने
–रगत कम हुनु
–मुख र दिसाबाट रगत आउनु
–पेट फुल्नु
–शरीर पहेँलो हुने (जन्डिस)
–पेटमा पानी जम्ने
–खुट्टा सुन्निने
–पुरुषमा स्तन वृद्धि हुने (गाइनेकोमास्टिया)
–प्रजननसम्बन्धी समस्या
–मस्तिष्क अनियन्त्रित हुने
–कलेजो सुन्निने
बच्ने उपाय
–सबैभन्दा पहिलो कुरा कलेजो सुरक्षित राख्न आफ्नो तौलमा ध्यान दिनुपर्छ।
–धूमपान र मद्यपानले कलेजोमा धेरै असर पुर्याउने भएकाले यस्ता हानिकारक खानेकुरा खानु हुँदैन।
–व्यायाम गर्ने, जथाभावी रूपमा एलोपेथिक र जडीबुटी औषधिहरूको सेवन गर्नु हुँदैन।
–त्यस्तै जथाभावी रूपमा पारासिटामोल वा नदुख्ने औषधि खाँदा कलेजोलाई धेरै असर गर्ने गर्छ।
–मुटु, टीबी र क्षारे रोगको औषधि सेवन गर्ने व्यक्तिले आफ्नो कलेजोमा कुनै असर परेको छ वा छैन भनेर जाँच गरिरहनुपर्छ।
(कलेजो रोग विशेषज्ञ डा. अच्युतविक्रम हमालसँगको कुराकानीमा आधारित)
Shares

प्रतिक्रिया