पौष शुक्ल पूर्णिमामा हिन्दू धर्मालम्बीहरुले सुरु गरेको श्री स्वस्थानी तथा माधव नारायण व्रत आइतबार विधिपूर्वक समापन गरिँदै छ।
पौष शुक्ल पूर्णिमादेखि स्वस्थानीको नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिबसेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्। पौष शुक्ल पूर्णिमामा सुरु स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य सकिँदै छ।
विधिपूर्वक एक महिने व्रत बसेकाले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता तथा विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनेर भगवतीलाई अघ्र्य दिइन्छ। चढाएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बगाउने विधि छ।
सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बस्ने गरिन्छ। रातभर शिव तथा देवी भजन तथा माहात्म्य सुन्ने र सुनाउने गरिन्छ। यसो गरेमा व्र्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।
Shares

प्रतिक्रिया