समाज


प्रहरी अस्पतालमा चिकित्सा शिक्षा सञ्चालन हुँदै, भवन उद्घाटन

प्रहरी अस्पतालमा चिकित्सा शिक्षा सञ्चालन हुँदै, भवन उद्घाटन

नेपालखबर
माघ १२, २०७९ बिहिबार १४:१०, काठमाडौँ

नेपाल प्रहरी अस्पतालमा यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयार गरिएको भवन उद्घाटन गरेका छन्। 

बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगन्जमा आयोजित समारोहका बीच नवनिर्मित भवनको उद्घाटन तथा निरीक्षण गर्दै परिसरमा आईजीपीले वृक्षरोपण समेत गरे।

महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज कार्यक्रममा आबद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायब उपरीक्षक निर्मला रायमाझी र प्रहरी नायब निरीक्षक पुलवराज गिरीलाई पुरस्कार प्रदान गरिएको छ।

पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायब उपरीक्षक डा. अविनाशध्वज जोशी र प्रहरी सहायक निरीक्षक हरिहर थापालाई पनि पुरस्कार प्रदान गरिएको छ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीका सन्ततिहरूको वृत्ति विकास गरी र दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गरे।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त गरिसकेको छ। यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन अध्यापन गराउने देशकै नमुना शिक्षण संस्थाका रूपमा विकास गर्दै लैजानुपर्ने आईजीपी सिंहले बताए। 

चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततिहरूमध्ये जेहेन्दार १ जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततिहरू १/१ जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना सुनाए।

महानिरीक्षक सिंहले नेपाल प्रहरी कल्याण कोषको सहयोगमा नवनिर्मित ज्येष्ठ प्रहरी अतिथि गृहले उनीहरूको अपेक्षालाई सम्मान र सम्बोधन गर्दै नेपाल प्रहरी अस्पतालबाट दैनिक रूपमा सेवा सुविधा प्राप्त गर्ने कूल संख्यामध्ये करिब ४० प्रतिशत अवकाशप्राप्त प्रहरी कर्मचारी लाभान्वित हुने गरेको तथ्यले समेत पूर्वप्रहरी कर्मचारीहरूको सेवामा नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको सन्देश दिएको उल्लेख गरे। 

नेपाल प्रहरीका कर्मचारीहरूमा यस अतिथि गृहले संगठनप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने विश्वास सिंहले व्यक्त गरे।

‘बिरामी वा सेवाग्राहीको दर्जा हेरेर र पहुँचका आधारमा मात्र सेवा प्रवाह गरियो भने कुनै सार्थकता हुँदैन’, महानिरीक्षक सिंहले भने, ‘अस्पतालबाट प्रदान गरिने सेवाहरूमा स्वास्थ्य अवस्थाको आधारमा सम्पूर्ण प्रहरी कर्मचारी र सर्वसाधारणको उत्तिकै सरल र सहज पहुँच हुनुपर्छ।’

नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथि गृहको प्रभावकारी सञ्चालनका लागि आवश्यक कार्यविधि र मापदण्ड तयार गरी यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। 

नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले नेपाल प्रहरी संगठन स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरी राष्ट्रलाई आवश्यक दक्ष स्वास्थ्यकर्मीको उत्पादन  गर्न विगत देखिनै प्रयासरत रहेकामा यस शैक्षिक सत्रबाट शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्राप्त भई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन भएको बताइन्।

देशमा शान्ति-सुरक्षा कायम राख्न अहोरात्र खटिएका प्रहरी कर्मचारी तथा आफ्नो जीवनको ऊर्जावान् समय प्रहरी सेवामा दिई अवकाश भएका पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारको स्वास्थ्य उपचारलाई गुणस्तरीय बनाउन नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको एआईजी सिंहको भनाइ छ। 

नेपाल प्रहरी कल्याण कोषको आन्तरिक स्रोतबाट निर्मित ज्येष्ठ अतिथि गृह भवन कूल २ करोड ८३ लाख ९२ हजार १ सय ८० रुपैयाँ ३८ पैसामा निर्माण सम्पन्न भएको हो। 

तीनतले नवनिर्मित भवनको कूल क्षेत्रफल ६ हजार ९ सय ७३ दशमलव ५५ वर्ग फिट छ। नवनिर्मित भवनको भुइँतलामा मेस, इन्टरटेनमेन्ट हल, शौचालय तथा कार्यालय कक्ष छन्। पहिलो र दोस्रो तलामा २ वटा क्याबिन, ३ वटा कमन कोठा र ट्वाइलेट/बाथरुम ब्लकको व्यवस्था गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad