ad ad

समाज


राहदानीको सर्भरमा देखिएको समस्या हल गर्न फ्रान्सबाट टोली आउँदै

राहदानीको सर्भरमा देखिएको समस्या हल गर्न फ्रान्सबाट टोली आउँदै

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १९:४७, काठमाडौँ

विद्युतीय राहदानीको सर्भरमा देखिएको प्राविधिक समस्या हल गर्न फ्रान्सबाट सोमबार एक टोली नेपाल आउने भएको छ। 

राहदानी विभागकी प्रवक्ता दुरपदा सापकोटाले फ्रान्सेली कम्पनी आइडिमीयाको एक टोली सोमबार नेपाल आउने तयारी रहेको बताइन्।

मलेसिया र भारतको बंगलोरबाट बिहीबार नेपाल आएको प्राविधिक टोलीले सर्भरमा आएको समस्या हल नसकेपछि फ्रान्सबाट टोली आउन लागेको हो। 

‘फ्रान्सेली टोलीले प्राविधिक समस्या समाधान गर्ने अपेक्षा गरिएको छ’ सापकोटाले नेपालखबरसँग भनिन्। 

आइडिमिया र विभागबीच भएको सम्झौता अनुसार उसले नेपालमा २०७८ मंसिर महिनादेखि राहदानी छपाई गर्दै आएको छ। त्यसअघि फ्रान्सकै अर्को कम्पनी ओबर्थरले नेपालमा राहदानी छपाई गर्ने गर्थ्यो। 

सापकोटाका अनुसार ब्यक्तिको राहदानीको सर्भरमा डाटा भ्यालिडेसन (प्रमाणीकरण) गर्दा समस्या देखिएको छ। जसले गर्दा सम्बन्धित ब्यक्तिको फोटो, विद्युतीय हस्ताक्षर र बाओमेट्रिक्स लिँदा साविकमा भन्दा बढी समय लागिरहेको छ। पहिले केही सेकण्डमै डाटा भ्यालिडेट गर्न सकिनेमा अहिले पाँच मिनेट सम्म लाग्ने गरेको छ। 

सर्भरमा आएको समस्याले राहदानी जारी गर्न ढिलाई हुन गई सेवाग्राहीले सास्ती बेहार्नुपरेको छ। राहदानी विभागले राहदानी वितरण कार्य तत्कालका लागि स्थगित गरेको जनाएको छ।

यही पुस १७ गतेदेखि राहदानी विभागको ‘सिस्टम’मा समस्या आइ राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको’ विभागले गत मंगलबार जनाएको थियो। 

विभागकी प्रवक्ता सापकोटाले राहदानी वितरण आंशिक रुपमा अहिले पनि सञ्चालन भइरहेको बताइन्। 

‘प्राविधिक समस्या हल गर्न प्रयास गरिरहेका छौं। समस्या समाधान हुनेछ’ उनले भनिन्। 

विभागले गत मंगलबार निकालेको सूचनामा ‘सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएस÷म्यासेज आएपछि मात्र विभागमा आउन’ अनुरोध गरेको थियो। 

साथै, नियमित रूपमा राहदानी आवेदनका लागि एपोइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित भइदिन पनि विभागले सूचित गरेको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मात्रै सचिवहरुलाई निर्देशन दिँदै संघीताको अभ्याससँगै घरदैलोमा नै सेवा पुग्ने जनअपेक्षा पुरा हुन नसकेको बताएका थिए।

उनले राहदानी, राष्ट्रिय परिचय पत्र र सवारी चालक अनुमति पत्रका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै अब दोहोरिए कारबाही चेतावनी दिएका थिए।

‘अहिले तपाईं हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ। राष्ट्रिय परिचय पत्र लिने सास्ती उत्तिकै छ’, उनले भने, ‘त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन।’

उनले अहिलेकै गतिमा बाँडिरहे सबैलाई दिँदासम्म दशकौँ समय लाग्ने बताए। 

‘अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्न दशकौँ लाग्छ’, उनले भने, ‘सवारी चालक अनुमति पत्र लिन पनि वर्षौँ कुर्नुपर्ने अवस्था छ। यसतर्फ तत्काल ध्यान दिनुपर्यो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .