समाज


गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

नेपालखबर
पुस ४, २०७९ सोमबार ८:२३, काठमाडौँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार ९सर्वोत्तम पिठो० गाउँमै उत्पादन गर्ने तयारी भएको छ। 

सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो। 

सात दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले जानकारी दिए। पुस १ गतेदेखि तालिम सञ्चालन भएको थियो । पच्चीस जनाको कोटा भए पनि लक्ष्यभन्दा बढी सङ्ख्यामा सहभागी गराइएको उनले बताए।

सामाजिक विकास कार्यालयको सक्षम महिला, समानान्तर पाइला कार्यक्रममार्फत रु दुई लाख बजेटबाट सो तालिम सञ्चालन गरिएको हो। गहुँ, मकै र भटमासको पिठोलाई मिश्रण गरेर घरमै सर्वोत्तम पिठो बनाउने ज्ञान सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो। 

तालिमको सुआहार कार्यक्रमका पोषणविज्ञ राजेन्द्र अधिकारी र बालकुमारी पुनले सहजीकरण गरेका छन्। तालिम अनुगमनका क्रममा आइतबार घारमा पुगेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पिठो उत्पादनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। 

जङ्कफुडको आयात घटाउने, व्यावसायिकरुपमा उद्यम सञ्चालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने, आर्थिकरुपमा सक्षम र उद्यमशीलताको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको मिलनका कार्यकारी निर्देशक बिटालुले बताए।

सर्वोत्तम पिठो छ महिना उमेर पुगेका बच्चाको लागि उपयुक्त पौष्टिक आहार मानिन्छ। स्थानीयस्तरमा ज्ञान सीप नहुँदा बच्चाले मन पराउने सर्वोत्तम पिठो बजारबाट खरिद गर्दै आएका छन्। सीप भएपछि घरमै उपलब्ध कृषिउपजको प्रयोग गरेर सर्वोत्तम पिठो बनाउन सकिने स्थानीय महिलाले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad