ad ad

समाज


कम्बोडिया, भियतनामबाट फुत्केर नेपाल आएका थिए साइबर अपराधमा पक्राउ परेका चिनियाँ

कम्बोडिया, भियतनामबाट फुत्केर नेपाल आएका थिए साइबर अपराधमा पक्राउ परेका चिनियाँ

दीपक खरेल
पुस ७, २०७६ सोमबार १४:५८,

प्रहरीका तीन इकाईले एकसाथ थालेको संयुक्त कारबाहीमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक नेपालमा बसेर चीन लगायत अन्य देशमा समेत अपराध कार्यमा संलग्न रहेको खुलेको छ।

चीनमा अनलाईन जुवा खेलाउने, अनलाईन मार्फतै युवतीहरुका अश्लील तस्बिर र भिडियो देखाउने देखि बैंकको एकाउण्ट ह्याक गरेर पैसा निकाल्ने समेत गरेको समुह सोमबार काठमाडौंमा पक्राउ परेको हो।

चीन सरकारलाई पनि पछिल्लो समय आफ्ना नागरिकहरु तेस्रो देशमा बसेर चीनमा अनलाईन अपराध गरिरहेको विषय टाउको दुखाई बनिरहेका बेला नेपाली सुरक्षा निकायले यो कारवाही बढाएको हो।

नेपाल प्रहरीले चिनियाँ अधिकारी समेतको सहयोगमा पछिल्लो पक्राउ गरेको हो। प्रहरीले सोमबार थालेको कारबाहीमा समेत नेपालस्थित चिनियाँ दूतावासको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ।

गृह उच्च अधिकारीका अनुसार चिनियाँ दूतावासका विशिष्ट अधिकारीहरुले गृहसँगको समन्वयमा कारबाही अघि बढाएका हुन्।

केही दिनअघि चीन सरकारको पहलमा फिलिपिन्समा भएको कारबाही उदृत गर्दै गृह सचिव प्रेमकुमार राईले भने, ‘जुवा लगायतका अपराधमा संलग्न रहेको सूचनाका आधारमा कारबाही अघि बढेको हो।’ उनका अनुसार प्रहरी प्रधान कार्यालयलाई यो कारबाहीको जिम्मेबारी तोकिएको हो।

फिलिपिन्समा यस्तै प्रकृतीको अपराधमा संलग्न ६ सय १ जना चिनियाँ नागरिक केही दिनअघि पक्राउ परेका थिए। यस्तै कम्बोडिया, भियतनाम, लाओस, इण्डोनेसिया र मलेसिया लगायत देशमा समेत यस्तै प्रकृतीको अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढेको थियो। त्यहाँबाट भागेको समूह नेपालमा सक्रिय रहेको सूचनापछि कारबाही सुरु भएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार बालाजु, महाराजगञ्ज र बुढानिलकण्ठमा रहेका आलिसान घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

ब्युरो प्रमुख डीआईजी निरजबहादुर शाहीले छापा मारेका घरहरुबाट ठूलो संख्यामा ल्यापटप र मोबाईल लगायतका सामाग्री नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको बताए। उनले पक्राउ परेकाहरुको अध्यागमन अपराध, साईबर अपराध र अन्य अपराधको यथार्थ विवरण आएपछि अनुसन्धानले गति लिने बताए।

‘अहिले शंकास्पद् घरहरुबाट १ सय २२ चिनियाँ पक्राउ भएका छन्,’ डीआईजी शाहीले नेपालखबरसँग भने ‘हामीले दूतावासमा समेत खबर गरेका छौं।’

प्रहरीले नियन्त्रणमा लिइएका १ सय २२ जनालाई सोमबार राति वृत्तहरु र परिसरमा राखेर थप सोधपुछ गर्ने शाहीले बताए।

प्रहरी टोलीले बाँसबारीका दुई घर, मनमैजुका तीनवटा र बुढानिलकण्ठस्थित एउटा घरमा छापा मारेको हो। यी घरहरु नजिकै छन्।

चिनियाँ साइवर अपराध विज्ञ नेपालमा
चीन सरकारको टाउको दुखाई बनेको अनलाईन जुवा र अनलाईन यौन अपराध बिरुद्धको कारबाहीमा सघाउन एकसय जनाभन्दा बढि चिनियाँ साइवर अपराध विज्ञहरु नेपालमा सक्रिय छन्। प्रहरीको एउटा इकाईले संकलन गरेको सूचनापछि सुरु भएको कारबाहीमा सघाउन चिनियाँ विज्ञ समेत काठमाडौंमा रहेको उच्च सरकारी अधिकारीले नेपालखबरलाई बताए।

ती अधिकारीका अनुसार दैनिक १० देखि १५ करोड रुपैयाँसम्मको अवैध कारोबार हुने गरेको प्रारम्भिक अनुमान छ। उनीहरुले सिंगो घर भाडामा लिने र तिब्र गतिको इन्टरनेट मार्फत अवैध कारोबार गरिरहेका थिए।

‘भन्नका लागि नेटवर्क भन्ने तर एउटै घरबाट चौबिसै घण्टा जुवा खेलाउने धन्दा हो,’ ती अधिकारीले भने ‘यसमा चिनियाँ सरकारको चासो समेत छ।’

प्रहरी उच्च अधिकारीका अनुसार पक्राउ परेका अधिकांश व्यक्ति पर्यटक भिषामा नेपाल आएर अवैध कारोबारमा संलग्न छन्। उनीहरुलाई सरकारले चीन नै फिर्ता पठाउने तयारी समेत गरिरहेको छ।

युनान प्रान्त मुख्य निशानामा
अनुसन्धान अधिकारीहरुका अनुसार चीनबाहिर बसेर साईबर अपराधमा संलग्न समुहले चीनको युनान प्रान्तलाई मुख्य कार्यक्षेत्र र चिनियाँ मुद्रा धरासायी बनाउने काममा सक्रिय रहेका थिए।

उनीहरुले तेस्रो देश र अन्य प्रान्त भन्दा युनानलाई लक्षित गरेर विभिन्न देशबाट साईबर अपराधको सिण्डिकेट संचालन गरिरहेका हुन्।

‘युनान मुख्य लक्षित प्रान्त र चिनियाँ मुद्रालाई धरासायी बनाउने अपराधमा संलग्न थिए भन्ने प्रारम्भिक सूचना हामीले पाएका छौं,’ ती अधिकारीले नेपालखबरसँग भने ‘हाम्रो कारबाहीका बिषयमा नेपालस्थित चिनियाँ दूतावास जानकार छ।’

याे पनि ः

यसकारण समातिए काठमाडौँबाट ९७ चिनियाँ नागरिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .