राजनीति


नेकपामा भागबण्डा : युवा संघमा मिल्यो, विद्यार्थी र महिलामा मिलेन

नेकपामा भागबण्डा : युवा संघमा मिल्यो, विद्यार्थी र महिलामा मिलेन

मणि दाहाल
पुस ७, २०७६ सोमबार १४:२८,

नेकपाको आइतबार सम्पन्न स्थायी समितिले पुस २३ गते शुरु हुने केन्द्रीय समितिको बैठकअघि नै संगठनात्मक एकीकरणसम्बन्धी सम्पूर्ण काम सक्ने निर्णय गर्याे। यसको अर्थ आगामी दुई साताभित्रै एकीकरणका बाँकी सबै काम सम्पन्न गर्नुपर्ने हुन्छ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा तीन महिनाभित्र एकीकरणको काम सम्पन्न गर्ने घोषणा गरिएको थियो। एकीकरण भएको १९ महिना बितिसक्दा पनि एकीकरणले पूर्णता पाउन सकेको छैन। जनवर्गीय संगठनदेखि केन्द्रीय विभागहरु खाली छन्।

नेकपाका दुई दर्जन जनवर्गीय संगठन र ३२ विभागको नेतृत्व तोकिएपनि तीमध्ये अधिकांशको संगठन संरचनाहरु अपूर्ण छन्। तिनिहरुको अहिलेको अवस्था हेर्दा आउने १५ दिनमा पनि ती सम्पन्न हुने देखिँदैन।

नेकपाले केन्द्रमा विभागहरु तोकेपनि विद्यार्थी, महिला, मजदूर जस्ता प्रमुख भ्रातृ संगठनहरुको एकीकरणको काम सकिएको छैन। रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा रहेको राष्ट्रिय युवा संघ, बामदेव गौतम अध्यक्ष रहेको किसान महासंघ, महेश्वर दाहालको नेतृत्वमा रहेको प्रेस सेन्टर नेपालसहित केही जनवर्गीय सगठनहरुले मात्रै केन्द्रीय नेतृत्वको मात्र एकीकरण सम्पन्न गरेको छ।

अहिलेसम्म आफ्ना केन्द्रीय समिति समेत गठन गर्न नसकेका जनवर्गीय संगठनका नेताहरुले पनि पार्टीले तोकेको नयाँ मिति भित्रै काम सक्ने दावी भने गरेका छन्।
प्रमुख जनवर्गीय संगठनहरुमध्ये जिल्ला तहसम्म एकीकरण प्रक्रिया सम्पन्न गर्नेमा किसान, युवा र प्रेस संगठन मात्र हुन्। ‘युवा संघले जिल्ला तहसम्म संगठनात्मक एकीकरणमा काम सम्पन्न गरिसकेको छ,’ सापकोटाले भने।

अनेरास्ववियुको संख्याका विषयमा सहमति भएपनि केन्द्रीय सदस्य को को हुने भनि तोक्न सकेको छैन। सो संगठनका अध्यक्ष ऐन महरले पार्टीले तोकेको समयभित्र गरिसक्ने बताए।
‘केन्द्रीय कार्यालयमा रहने संख्या मिल्न सकेको छैन। पार्टीलाई संख्या बढाउने भन्ने प्रस्ताव पठाएर आग्रह गरेका छौं। उहाँहरु सकारात्मक हुनुहुन्छ,’ महरले नेपालखबरसँग भने। उनले तत्कालीन एमालेतर्फको अखिल र माओवादी अखिल क्रान्तिकारीले केन्द्रीय समितिमा प्राप्त गर्ने हिस्सेदारीको विषय भने टुङ्गिएको बताए।

३ सय ३५ सदस्यीय केन्द्रीय समिति हुने र त्यसमा एमाले अखिलबाट १ सय ८० र माओवादी अखिल तर्फबाट १ सय ५५ सदस्य रहने बताए ।

तर, पार्टीको महिला संगठनको केन्द्रीय समितिमा कति सदस्य हुने भन्ने समेत अहिलेसम्म निश्चित भएको छैन । पार्टीले ठूला जनवर्गीय संगठनलाई २ सय ५१ सदस्यीय सम्म बनाउनसक्ने सीमा तोकेको छ ।

‘पार्टीले तोकेको संख्याले महिला संगठनमा सबैलाई समेट्न सक्नेछैन। कार्यदलले ४ सय ७५ सदस्यीय बनाउनका लागि सिफारिस गरेको थियो। तर पार्टीका नेताहरुले यति ठूलो बनाउन नहुने बताउनु भएको छ,’ संघकी संयोजक अमृता थापाले भनिन्। ‘तर कति भनेर तोक्नुभएको छैन। संख्या तोक्न माग गर्दै आएका छौ। पुस अन्तिम साता वा माघको पहिलो सातामा केन्द्रीय समिति घोषणा गरेर जाने तयारी छ ।’

थापाले पार्टी नेतृत्वले संख्या नतोके संगठनले नै तोकेर जाने विकल्पमा समेत छलफल भैरहेको बताइन्। उनले संगठनको नाम, झण्डासहित अन्य विषयमा सहमति जुटिसकेको जानकारी दिइन्।

त्यसैगरी, मजदूर संगठनको काम अघि बढ्न सकेको छैन। सो संगठनमा पूर्वएमाले र पूर्व माओवादीतर्फबाट कति संख्या लिएर समिति गठन गर्ने भन्ने विषयमा निर्णय भएको छैन।
नाम, झण्डा र लोगोको बारेमा करिब करिब सहमति भएको मजदूर संगठनका सहसंयोजक जगत सिम्खडाले बताए। ‘हामीबीच नाम जिफन्ट राख्ने विषयमा सहमति नजिक पुगेका छौं।

तर अन्तिम टुङ्गो लागिसकेको छैन,’ सिम्खडाले भने। ‘अहिले हाम्रो छलफल प्रदेश तथा विषयगत संगठनहरुको नेतृत्वको विषयमा केन्द्रीत छ । केन्द्रीय सदस्यको पनि बाँडफाँट भने भएको छैन।’ पार्टीले २ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउन मजदूरसहित सबै ठूला जनवर्गीय संगठनहरुलाई निर्देशन दिएको थियो।

जनवर्गीय संगठनकहरुकै जस्तो स्थिति केन्द्रीय विभागहरुको पनि छ। विभागका प्रमुख तथा उपप्रमुखहरु तोके पनि त्यसले पूर्णता पाउन सकेको छैन। नेकपामा स्कूल, प्रचार, संगठन, विदेश, आर्थिक तथा योजना, सम्पर्क मञ्च, संघीय मामिला, उपभोक्ता, कृषि तथा सहकारी लगायत ३२ विभाग छन्। नेकपाले सबै विभाग ३५ सदस्यीय हुने र त्यसमा पूर्व एमालेबाट २० र पूर्व माओवादीबाट १५ सदस्य रहने सहमति गरिसकेको छ।

यसअघि पनि पार्टी नेतृत्वले जनवर्गीय संगठन र विभागहरुलाई एकिकरणका लागि पटकपटक समयसीमा तोकेपनि उनीहरुलाई आपसी भागवण्डा र नेतृत्व चयन गरेर ती विषयहरु सुल्झाउन सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .