समाज


चुनावका लागि बाहिरिने सवारी साधन बढे, टिकट काट्नेभन्दा रिजर्भ गर्ने बढी

चुनावका लागि बाहिरिने सवारी साधन बढे, टिकट काट्नेभन्दा रिजर्भ गर्ने बढी

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०७९ शुक्रबार ७:५७, काठमाडौँ

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ। मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन्। यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अहिले सवारीको चाप केही बढेको बताए। ‘उपत्यकाबाट औसत अवस्थामा दैनिक ४० हजारदेखि ४५ हजार जना यात्रु भित्रिने र सोही बराबर बाहिरिन्छन्। तर पछिल्लो २४ घण्टामा ४१ हजार पाँच सय तीन जना यात्रु उपत्यकामा आएका छन् भने ५५ हजार एक सय ४७ जना बाहिरिएका छन्’, भट्टले भने, ‘अहिले औसतभन्दा केही चाप बढेको छ।’

आजसम्म शैक्षिक संस्था र सरकारी कार्यालय सञ्चालनमै रहेकाले निर्वाचनका लागि बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य देखिनसकेको उनको भनाइ छ। ‘आजसम्म स्कुल र सरकारी कार्यालयहरू खुलै रहेकाले धेरै चाप छैन। भोलिदेखि बढ्न सक्छ’, भट्टले भने।

बुधबार ५१ हजार चार सय ५० जना उपत्यका छिरेको र ५१ हजार तीन सय १९ जना बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यकामा पछिल्लो २४ घण्टामा आवतजावत गर्ने सवारी साधनको सङ्ख्या हेर्दा आठ हजार १० सवारी साधन भित्रिएको र सात हजार सात सय नौ वटा सवारी साधन बाहिरिएका छन्। त्यस्तै बुधबार आठ हजार तीन सय ३६ वटा सवारी साधन उपत्यकामा भित्रिएका थिए भने सोही सङ्ख्यामा सवारी बाहिरिएका छन्।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले कात्तिक अन्तिम सातायता सवारी साधन परिचालनमा चाप देखिएको बताए। ‘पछिल्लो तीन–चार दिनयता देशभर रिजर्भ गाडीहरू बढी चलेका छन्। दैनिक बुकिङका गाडी पनि गइरहेकै छन्। यो क्रम शनिबारसम्मै चल्छ’, सिटौलाले भने, ‘अहिले सबैजसो दलले रिजर्भ गरेरै गाडी लगिरहेका छन्। दैनिकरूपमा टिकट काटेर चल्ने गाडीभन्दा रिजर्भ गाडीहरू बढी चलेका छन्। चुनावलाई मात्रै लक्षित गरेर पाँचदेखि छ लाख मानिस आवत–जावत गर्ने अनुमान हामीले गरेका छौँ।’

लामो दूरीका सवारी साधनहरू शुक्रबार र छोटो दूरीका गाडीहरू शनिबारसम्म चल्ने उनको भनाइ छ। चुनावका लागि परिचालन भएका सवारी साधनको सङ्ख्या बढे पनि त्यसको व्यवस्थापन गर्न समस्या नरहेको सिटौलाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad