बिहीबार (मंसिर १) गते राति १२ बजेबाट स्थिर समय (मौन अवधि)सुरू भइसकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरु हुनुभन्दा ४८ घन्टा अघि नै निर्वाचन आयोगले स्थिर समय सुरु गरेको हो।
यसअघि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले गर्दै आएको निर्वाचन प्रचार प्रसार कार्यक्रम पूर्ण रुपमा बन्द गराइएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आचारसंहित लागु गराउनका लागि आयोगमा बिहीबार ‘केन्द्रीय आचारसंहिता अनुगमन समिति’ को बैठक बसेको थियो। सो बैठकले स्थिर समय सुरु भएपछि पालना गर्नुपर्ने नियमहरुको निर्णय गरेको छ।
निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनैपनि सामाग्री सामाजिक सञ्जालमा नराख्न र शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट समेत नगर्न सर्वसाधरणलाई आयोगले आग्रह गरेको छ।
‘मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने,’ आयोगको निर्णयमा भनिएको छ।
Shares

प्रतिक्रिया