ad ad

समाज


कर्णालीको झोलुङ्गे पुलमा काठको भर्‍याङ, निशानामा पूर्वमुख्यमन्त्री शाही

शाहीको तर्क : राजनीतिक पूर्वाग्राह राखेर आलोचना भयो
कर्णालीको झोलुङ्गे पुलमा काठको भर्‍याङ, निशानामा पूर्वमुख्यमन्त्री शाही

कालिकोटस्थित कर्णाली नदीको झोलुङ्गे पुलमा जोडिएको काठे भर्‍याङ


दिनेश बुढा
कात्तिक १४, २०७९ सोमबार १२:४२, सुर्खेत

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको एउटा तस्बिर भाइरल भएको छ।

झोलुङ्गे पुलमा भर्‍याङ हालिएको उक्त तस्बिर कर्णालीका पूर्वमुख्य मन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालीकोटको हो। 

कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–२ मा जितेगडास्थित कर्णाली नदीमा बनाइएको उक्त पुल पुरानो र जीर्ण बनिसकेको छ। 

यही दसैँलगत्तैको अविरल वर्षापछि कर्णाली नदीमा आएको बाढीले पुलको आधा भाग बगाएको थियो।

बाढीले पुलको आधा भाग बगाएपछि त्यहाँका यतायात र होटल व्यवसायीले यही कात्तिक १० गते त्यहाँ भर्‍याङ लगाएका थिए। 

उक्त तस्बिर आइतबारदेखि स्थानीयबासीदेखि, विद्यार्थी नेता र पत्रकारसम्मले सामाजिक सञ्जाल भाइरल बनाइरहेका छन्।

उनीहरुले कालीकोटको नयाँ विकासको मोडल भन्दै ब्यंग्य गरिरहेका छन्। कतिपयले कर्णालीका पूर्वमुख्यमन्त्री शाहीलाई कटाक्ष गर्दै फेसबुकमा फोटो पोष्ट गरेका छन्। 

त्यस तस्बिरले संघीय सरकारमा ऊर्जा मन्त्री र कर्णालीको पहिलो मुख्य मन्त्रीस बनेर करिब चार वर्ष सरकार चलाएका शाहीलाई गिज्याइरहेको स्थानीय बताउँछन्। 

असोज १९ गतेदेखि  असोज  २५ गतेसम्म  लगातारको वर्षापछि आएको बाढीले  पुलमा क्षति पुर्‍याएको थियो। 

अहिले कालीकोटको जितेगडा पुगेका नागरिकले नरहरिनाथ, सान्नीत्रिवेणी, पँचालझरना, पलाता गाउँपालिका र रास्कोट नगरपालिका आवतजावतका लागि यही पुलको प्रयोग गर्दै आएका छन्। 

यति मात्रै नभएर सुदुरपश्चिमको बाजुरा र हुम्ला जाने नागरिक पनि यही पुलमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। 

कालीकोटको तिलागुफा नगरपालिका–९ का शंकर खत्रीले समयमै पुल नबन्दा कालीकोटका चार पालिकाका नागरिक ओहोरदोहोर गर्न समस्या हुने गरेको बताए। 

‘यो पुल तरेर पल्लो कालीकोमा स्थानीय तहमा जाने बाटो पर्दछन्। यो पुरानो हो। कालीकोटमा सडक नपुग्ला नागरिकहरु यहीँबाट नागरिक हिँडने गर्दथे, कालीकोटले धेरै नेता जन्माएर सरकारसम्म पुर्‍याएको छ’, उनले भने, ‘तर, कुनै नेताले यसको मर्मतमा चासो दिएनन्। कालीकोटबाट जितेर मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले औँलामा गन्न सकिने काम गर्न सक्नु भएन। त्यहीकारण उहाँलाई स्थानीयले गिज्याइरहेका छन्।’ 

यस्तै, त्यही पुल तरेर नरहरिनाथ गाउँपालिका पुग्ने एक स्थानीयले शाहीले नागरिकलाई झुक्काएको गुनासो गरे। 

‘तपाईं आफैँ मूल्यांकन गर्नुस् न, यो सामाजिक सञ्जालमा भाइरल भएको फोटो कालीकोटकै हो। उहाँ मुख्यमन्त्री भएको उपहार यहीँ होत कालीकोटका जनताको लागि!’ उनले थपे, ‘उहाँ अहिले कालीकोटबाट प्रतिनिधि सभाका साझा उम्मेदवार हुनुहुन्छ। जनतालाई केवलकारको सपना बाडिँराख्नु भएको छ।  एउटा पुल मर्मत गर्ने नसक्नेले केवलकार र विमानस्थलका योजना बोकेर गाउँ छिर्नु भएको छ।’

उनले कर्णालीको मुख्य मन्त्री बनेपछि यस्ता पुल मात्रै नभएर कर्णाली राजमार्ग यात्रा नगरेको आरोप लगाए। 

‘उहाँ कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेपछि हेलिकोप्टर मा मात्रै यात्रा गर्नुभयो। कर्णाली राजमार्ग देख्नुभएन’, उनले भने, ‘कर्णाली राजमार्गमा यात्रा गर्ने आम कर्णालीवासीले खेप्नु भएको दुःख, सास्ती, देख्नु भएन्। अहिले गृहमन्त्री हुन्छु भनेर भोट मागिराख्नु भएको छ।’

के भन्छन् शाही? 
पुलबारे शाहीले पुल बाढीले बगाएको दोष आफूमाथि राजनीतिक पूर्वाग्राहसहित थोपरिएको बतएा। 

‘त्यो बाढीले बगाएको पुल हो। आधा पुल प्रयोग भइरहेको छ। त्यो पुल तुरुन्तै मर्मतका लागि चुनावको बेला काम अगाडी बढ्ने कुरा भएन। चुनावपछि मर्मत गर्नुपर्छ’। उनले भने, ‘त्यो हामीले बनाएको पुल होइन। अहिले काम चलाउन भर्‍याङ लगाएका छन्। यसमा मेरो नाम जोड्नुपर्ने कारण छैन’

कर्णाली करिडोरको काम आफूले नै अघि बढाएको उनले बताए।

‘ठेक्का ताडेर आर्मीलाई दिएर अहिले सडक हुम्ला पुगिसेको छ। सडक सुधारका लागि ठेक्का लागेको छ’, उनले भने, ‘पर्खाल, नाला बनाउने, सडक चौडाको काम भइरहेको छ। अबै विस्तारै पिच हुन्छ। एकै रात गफ गरेजस्तो हुँदैन विकास भन्ने कुरा’, उनले भने, ‘काम गरेको सबैले बुझ्नुपर्‍यो। अहिले बाढीले अवरुद्ध गरेको छ। विपद् कसले रोक्न सक्छ र? जनतालाई थाहा छ विकास गरे नगरेको, विरोधीले भनिहाल्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .