समाज


मनसुन बिदा भएसँगै बढ्न थाल्यो चिसो

मनसुन बिदा भएसँगै बढ्न थाल्यो चिसो

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ७:२०, काठमाडौँ

मनसुन अर्थात् वर्षायाम बिदा भएसँगै देशभर चिसो महसुस हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार बिहान–बिहान चिसो हुन थालेको हो। 

‘अहिले न्यूनतम तापक्रम केही घटेको छ’, मौसमविद् भट्टराईले मंगलबार बिहान नेपालखबरसँग भने, ‘दिउँसोको अर्थात् अधिकतम तापक्रम भने अहिले घटेको छैन।’

उनका अनुसार साँझतिर पनि अहिले खासै चिसो बढेको छैन। बिहानको तापक्रम मात्र केही घटेको उनको भनाइ छ। यस वर्षको मनसुन केही दिन ढिला गरी गत आइतबार (अक्टोबर १६) मा नेपालबाट बाहिरिएको हो। नेपालबाट मनसुन हट्ने औसत मिति अक्टोबर २ तारिख हो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

मनसुन बिदा भएको र विन्टर सुरु भइनसकेको अवधिलाई पोस्ट मनसुन हुन्छ। मौसमविद् भट्टराईका अनुसार नोभेम्बर महिनाभर पोस्ट मनसुन रहन्छ। डिसेम्बरदेखि भने विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।  

माैसम महाशाखाका अनुसार यतिबेला (मंगलबार बिहान) देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। 

आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको मौसमविद् भट्टराईले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad