समाज


वकिल भन्छन् : ‘नाबालिग’ले उमेर घटाएको प्रमाण पायौँ, सन्दीपलाई योजनावद्ध फसाइयो

वकिल भन्छन् : ‘नाबालिग’ले उमेर घटाएको प्रमाण पायौँ, सन्दीपलाई योजनावद्ध फसाइयो

काठमाडौं जिल्ला अदालतअगाडि सन्दीपका वकिलहरु। तस्बिर : नेपालखबर


नेपालखबर
असोज २४, २०७९ सोमबार १४:१९, काठमाडौँ

बलात्कार आरोपमा पक्राउ परेका चर्चित क्रिकेटर सन्दीप लामिछानेका वकिलले उनलाई नियतवश फसाउन खोजिएको दाबी गरेका छन्। 

सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा  पहिलो पटक म्याद थपका लागि ल्याउने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन्। 

सन्दीपलाई असोज २० देखि लागु हुने गरी असोज २७ गतेसम्म ७ दिन म्याद थपेपछि अदालतबाट बाहिरिँदै उनका वकिलहरुले यो घटना योजनावद्ध बनाइएको दाबी गरेका छन्। 

सन्दीपविरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले असोज २० गतेदेखि ३० गतेसम्म १० दिनको समय मागेको थियो। तर अदतले सात दिनमात्रै दिएपछि अब असोज २७ सम्म अनुसन्धान गर्ने समय प्रहरीले पाएको छ।

पक्राउ परेको पाँचौँ दिनमा प्रहरीले सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएपछि उनका एकजना वकिलले नाबालिग भनिएकी युवतीका दुईवटा जन्मदर्ता भेटिएको दाबी गरिन्। 

सन्दीपको पक्षबाट अदालत पुगेकी अधिवक्ता सुधा रिजालले भनिन्, 'पीडित भनिएकी युवतीले दुई वटा जन्म दर्ता बनाएको देखिएको छ। प्रतिलिपि निकाल्दा उमेर घटाएको पाएका छौँ। सिलसिलावद्ध रुपले सन्दीपलाई फसाउन खोजिएको पाइयो।'

उनका अनुसार प्रहरीले आजदेखि पाँच दिन समय मागे पनि अदालतले त्यति दिएन। 'अब बयान अघि बढ्छ। अदाततले नागरिकता प्रमाण पनि झिकाउँछ', उनले भनिन्, 'हामी पनि किशोरीले उमेर घटाएर जन्मदर्ता पेश गरेको प्रमाण पेश गर्छौँ।'

उनका सन्दीपले गलत आशयले भन्दा सेलिब्रिटीका हिसाबले सम्बन्ध बनाएको थिए। तर उनलाई फसाउने गरी योजना बनाइएको तर्क रिजालले गरिन्। 

अर्का वकिल सरोज घिमिरेले सन्दीपले अदालतमा आफू निर्दोष रहेको कुरा राखेका छन्। 

'आज अदालतले २७ गते हाजिर हुने सर्तमा सात दिनको म्याद दिएको छ', उनले भने, 'न्यायाधीशसमक्ष सन्दीपले आफ्नो करिअर बिगारिएकाले त्यसको कानुनी उपचारको कुरा छ कि छैन भनेर सोधेका छन्।'

घिमिरेका अनुसार अदालतमा उपस्थित गराएपछि सन्दीपलाई बयानका लागि सरकारी वकिलकहाँ लगिएको छ।

'सन्दीप कन्फिडेन्ट छन्। अदालतमा उनले मलाई फसाइएको हो म निर्दोष छु भनेका छन्', घिमिरेले भने, ' बारम्बार मलाई फसाइएको कुरा उनले भनेका छन्।' 

घिमिरेले पनि ती नाबालिग भनिएकी किशोरीले पछि लाभ हुने भएकाले जन्मदर्तामा उमेर घटाएको कुरा बताएको खुलाए। 'ती नाबालिग भनिएकी युवतीले पछि लाभ हुने कुरा हेरेर मैले उमेर घटाएको भन्ने जानकारी दिएको कुरा आएको छ', उनले भने, 'यसबारेमा अदालतमा बहस अघि बढेपछि हामी कुरा उठाउँछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .