समाज


दार्चुला बाढी :  ७ जना अझै बेपत्ता, उद्धार र उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको  निर्देशन

दार्चुला बाढी :  ७ जना अझै बेपत्ता, उद्धार र उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको  निर्देशन

नेपालखबर
भदौ २५, २०७९ शनिबार १५:३५, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिए।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए।  

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पु¥याएको छ। अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने सात जना बेपत्ता तथा आठ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको उनले बताए।

गृहमन्त्री खाणले बाढी पहिराबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन र यथाशीघ्र उद्धार गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।

बाढीबाट लास्कु क्षेत्रका चार, बाङाबगड क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ। दुहुँ र महाकाली जोड्ने लास्कुखोलाको झोलुङ्गे पुल र मोटरेबल पुल बगाएको छ।

बाढीले पार्किङमा राखेका पाँच जीप, एउटा ट्रयाक्टर र एउटा समेत बगाएको प्रहरी जनाएको छ। अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीर स्थानीयवासी खोज तथा उद्धारमा खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad