देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार पाँच सय १८ जनाले पीसीआर र दुई हजार आठ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। यही अवधिमा एक सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ। होम आइसोलेसनमा दुई हजार तीन सय ७०, संस्थागत आइसोलेशन एक सय तीन, सघन उपचार कक्षमा २२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित छन्।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर छ। शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला र बझाङ छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७२, ललितपुरमा चार सय ३५ र भक्तपुरमा ३६ सक्रिय सङ्क्रमित छन्। कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। रासस
Shares

प्रतिक्रिया