समाज


पोखरामा मुस्ताङको चर्चा

पोखरामा मुस्ताङको चर्चा

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०७९ सोमबार ८:४२, काठमाडौँ

मुस्ताङको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको अपेक्षित उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ।

पोखरा पर्यटन परिषद्द्वारा आइतबार पोखरामा आयोजित मुस्ताङ जिल्लाको पर्यटन प्रवद्र्धन तथा कोराला नाका विषयक अन्तक्र्रियामा वक्ताले पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि यहाँका सम्भावनालाई अझै पनि उजागर गर्न नसकिएको सहभागीले बताएका थिए।

सरोकारवाला निकाय तथा जनप्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उनीहरुले मुस्ताङदेखि पोखरा हुँदै त्रिवेणीसम्म सडक सञ्जालले जोड्दै यहाँको पर्यटन प्रवद्र्धन गर्नसके स्वदेशी एवं पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राखे।
    
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङलाई मुक्तिनाथ मन्दिरले मात्र चिन्ने गरिएको जनाउँदै त्यहाँका प्राकृतिक सम्पदा र संस्कृतिलाई बुझन बुझाउन जरुरी रहेको बताए। 

‘मुस्ताङ जिल्लाका सबै क्षेत्र डुलेपछि मात्र थाहा हुन्छ कि प्राकृतिक सम्पदाले कति धनी रहेछ’, उनले भने, ‘उपल्लो मुस्ताङको लोमङथाङ अझै प्रसिद्ध रहेको छ।’
    
मुस्ताङको कोरालादेखि नवलपुरको त्रिवेणीसम्मको सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढाउन सङ्घीय सरकारसँग समन्वय गरी अघि बढिने उनले विश्वास व्यक्त गरे। ‘गण्डकी प्रदेशकै गौरवको योजना कोराला नाकादेखि त्रिवेणीधामसम्मको सडक जति छिटो सम्पन्न भयो त्यति नै यस क्षेत्रको विकास र आर्थिक उन्नति हुन्छ’, उनले भने।
    
गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट उपल्लो मुस्ताङमा परापूर्वकालमा बनेका सम्पदा रहेको र ती सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न जरुरी रहेको बताए। ‘मुस्ताङ जिल्ला प्राकृतिकरुपमा विश्व मै धनी छ तर ती सम्पदाको प्रचारप्रसार नेपाल सरकारले गर्न नसक्दा हामी पछि परेका छौँ’ उनले भने।
    
‘नेपालकै सबैभन्दा पुरानो गुम्बा मुस्ताङमा छ, माटोले बनेको  पर्खाल किन नहोस दरबार पनि यही नै छ, विश्वमा नै नपाइने शालीग्राम यही पाइन्छ’, उनले थपे, ‘मुस्ताङको माटो नै फरक छ।’

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले मुस्ताङ जिल्ला नै प्राकृतिक सम्पदाको खानी भएकाले यसको प्रचारप्रसारमा कमी रहेको धारणा राखे।

मुस्ताङको घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङका पर्यटकको बसाई लम्ब्याउन मुक्तनाथ र मानसरोवर मात्र नभएर जिल्लाका प्राकृतिक सम्पदाको दृष्यावलोकन गराउन जरुरी भएको आवश्यकता औँल्याए। ‘अहिले मुस्ताङ पुग्ने ९० प्रतिशत धार्मिक पर्यटक छन्, उनीहरूलाई एक दुई दिन मुस्ताङमा नै बस्ने  वातावरण सृजना गर्नुपर्छ’, उनले भने।

उनका अनुसार अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शका लागि त्यहाँ पुग्ने गर्छन। गर्मी स्थानमा बसेको उनीहरु चिसो ठाँउमा पुग्दा उनीहरुलाई श्वासप्रश्वासमा अप्ठेरो हुँदा मुस्ताङमा आधारभूत स्वास्थ्य केन्द्र ठाउँठाउँमा राख्न जरुरी भएको त्यहाँका जनप्रतिनिधिले जोड दिए।

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले मुस्ताङ जिल्लाका  पदमार्ग सडक बन्दा पर्यटकको बसाई घट्दै गएको बताउँदै मुस्ताङको पर्यटनसँगै कृषिलाई नै सँगै लिएर जान जरुरी रहेको बताए।

मुस्ताङको स्याउ अत्यन्तै स्वादिलो रहेकाले यहाँ उत्पादित स्याउ विश्व बजारमा पु¥याउनुपर्नेमा पनि कार्यक्रममा जोड दिइयो ।
    
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटनसँग मुस्ताङ प्रत्यक्ष जोडिएको जनाउँदै त्यहाँका प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीयरुपमा भरपुर उपयोग गर्नुपर्ने धारणा राखे।

समाजसेवी लोप्साङ विष्ट, रिङजिङ गुरुङ, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देललगायते मुस्ताङको पर्यटन विकासमा मुख्य बाधक सडक भएकाले कोराला नाका छिटो बनाउनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad