कला


बलिउडलाई चुनौती दिएका ३ नेपाली चलिचित्रले फिल्म उद्योगमा उत्साह

बलिउडलाई चुनौती दिएका ३ नेपाली चलिचित्रले फिल्म उद्योगमा उत्साह

नेपालखबर
भदौ २०, २०७९ सोमबार ८:४९, काठमाडौँ

लामो समय सुनसान भएको नेपाली फिल्म उद्योग रामबाबु गुरुङ निर्देशित पछिल्लो फिल्म ‘कबड्डी ४’ प्रदर्शन भएपछि लयमा फर्कियो। तर यो फिल्मपछि प्रदर्शनमा आएका फिल्मले त्यो लयलाई जोगाएर उद्योगलाई गति दिन सकेनन्।

सुस्ताएको फिल्म उद्योगलाई पुनः गति दिन सफल देखिएको छ गत भदौ १० गतेबाट हलमा लागेको ‘प्रकाश’ फिल्म। यो फिल्मले हलमा दर्शकको चहलपहल फर्काएको हल सञ्चालकहरु बताउँछन्।

अहिले ३ नेपाली फिल्म नियमित प्रदर्शनमा छन्। अघिल्लो साता प्रर्दशनमा आएको प्रकाश र यही साता प्रदर्शनमा आएका ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’सँगै भारतीय फिल्म ‘लाइगर’पनि प्रदर्शन भइरहेको छ। यी सबै फिल्मका कारण फिल्म उद्योगमा राम्रै चहलपहल देखिएको छ।

प्रदर्शनमा रहेका ३ वटै नेपाली फिल्मले राम्रो ब्यापार गरिरहेको देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सकी बजार प्रमुख तृप्ति गिरीको भनाई छ।

उनी भन्छिन् ‘अहिले क्युएफएक्सका सबै हलहरुमा दर्शकको चहलपहल राम्रो छ। तीन वटै नेपाली फिल्मको व्यापार राम्रो छ। प्रदर्शनको पहिलो दिन झिँगेदाउको व्यापार ठिकै भए पनि अहिले पिकअप लिएको छ। भरतीय फिल्म ‘लाइगर’ भन्दा नेपाली फिल्मले राम्रो व्यापार गरिरहेको छ।’

‘कबड्डी’ सिरिजपछि ‘प्रकाश’ले दर्शक हल फर्काएको गिरीको भनाइ छ। सुरुमा ठिकै गरेको ‘प्रकाश’ले बिस्तारै पिकअप लिएको थियो। अहिले ३ वटै फिल्ममा दर्शक बराबर आएको गिरीले बताइन्। 

‘कबड्डी ४’पछि सेलाएको फिल्म उद्योग उकास्न प्रकाशलेसहयोग गरेको रञ्जना सिनेप्लेक्सका म्यानेजर शशांक मान सिंह बताउँछन्। अब भने नेपाली फिल्म उद्योग लयमा फर्किनेमा सिंह आशावादी सुनिए। 

राइजिङ मलमा रहेको क्यूज सिनेमा इन्चार्ज अभिषेक थपलिया पनि अहिले नेपाली फिल्ममा दर्शकको राम्रो उपस्थिति रहेको बताउँछन्। उनले भने, ‘नेपाली फिल्मले आशा देखाएका छन्। तुलनात्मक रुपमा सबैभन्दा प्रकाशले नै राम्रो गरिरहेको छ।’ 

सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा र आकाश श्रेष्ठका साथमा डेब्यू नायक सोनम तोप्देन शीर्ष भूमिकामा देखिएका छन्। ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्ट मुख्य भूमिकामा देखिएका छन्। 

भदौ १० गतेबाट प्रशर्दनमा आएको फिल्म ‘प्रकाश’मा प्रदीप खड्का र दिया मास्के शीर्ष भूमिकामा देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad