ad ad

समाज


अनलाइन ठगीकाे अन्तर्राष्ट्रिय सञ्जाल, बैंक ह्याकिङमा बेलायती र नाइजेरियनसमेत संलग्न

अनलाइन ठगीकाे अन्तर्राष्ट्रिय सञ्जाल, बैंक ह्याकिङमा बेलायती र नाइजेरियनसमेत संलग्न

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १०:३६,

भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन्।

पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ। अनलाइन ठगीमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जाल मार्फत ठगीधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखा एसएसपी सहकुल थापाले बताए।

पिटर र स्मिथले नेपालमा ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको उनले बताए। नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए।

उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताए। थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगीमा संलग्न रहेको र १५ जना अनलाइनबाट ठगी पीडितहरु प्रहरीको सम्पर्कमा आएको बताए।

असोज पहिलोसाता कृषि विकास बैंक लहानको सिस्टम ह्याक गरेर निकालेको रकम विभिन्न १७ वटा बैंकमार्फत कारोबार भएको पाइएको छ। जसमा बैंक अफ काठमाडौं, प्रभु बैंक, मेगा बैंक, हिमालयन बैंक, सनराईज बैंक, सिटिजन बैंक, नबिल बैंक, लुम्बिनी विकास बैंक, माछापुच्छ्रे, एसबीआई, नेपाल बंगलादेश, ग्लोबल आईएमई, एनआईसी एसिया, स्टार्ण्ड चार्टड,  एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंक रहेका छन्। 

एजेण्टहरुले ठगी गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .