ad ad

समाज


महानगरको कदमले खुल्दै पार्किङस्थल, आफैं भत्काउन थाले नक्साबिनाका संरचना

महानगरको कदमले खुल्दै पार्किङस्थल, आफैं भत्काउन थाले नक्साबिनाका संरचना

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १७:५५, काठमाडौँ

काठमाडौं महानगरको ‘एक्सन’पछि व्यापारिक भवनहरुका पार्किङस्थल धमाधम खुल्न थालेका छन्। 

महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ खाली गराएसँगै विभागले १२ गतेबाट पार्किङको लागि खुल्ला गरेको छ। 

बारम्बार बैठक बस्दा पनि समस्या समाधान नभएपछि काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ शुक्रबारै खाली गरेको छ। 

विभागले अटेरी गरेपछि काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले पार्किङमा राखिएका कुर्सीसहितका सामान हटाएर खाली गराएको थियो। 

त्यसपछि विभागले सूचना जारी गरेर पार्किङका लागि बेसमेन्ट खुल्ला गरिएको जनाएको छ। 

‘साविकमा विभागको बेसमेन्ट राहदानी आवेदकहरुको लागि होल्डिङ एरियाका रुपमा प्रयोग हुँदै आएको थियो,’ विभागले शुक्रबार भनेको छ छ, ‘अबदेखि सेवाग्राहीका लागि पार्किङस्थलका रुपमा महानगरले खाली गराएकाले १२ गतेदेखि बेसमेन्ट त्यसमै प्रयोग हुने जानकारी गराउँछौँ।’

महानगरको अनुगमनका क्रममा राहदानी विभागमा महानिर्देशक सुरेन्द्रकुमार यादवले मानवीय सहायताका लागि बेसमेन्टमा कुर्सी राखिएको तर्क गरेका थिए। 

महानगर प्रहरी प्रमुख पाण्डेले झ्याल नभएको ठाउँमा मानिस राख्नु राम्रो नहुने बताउँदै बेसमेन्ट खाली गराएका हुन्। 

‘महानिर्देशकले मानवीय सहायताका लागि बेसमेन्टमा यात्रु कक्ष बनाइएको बताउनु भयो। तर झ्याल नभएको ठाउँमा सर्वसाधरणलाई राख्नु उपयुक्त हुँदैन,’ पाण्डेले भने, ‘पार्किङ प्रयोजनका लागि पास भएको भवन अरु काम गर्न पाइँदैन।’

काठमाडौं महानगरको एक्सनसँगै त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर अगाडि बनाइएका अवैध संरचना भत्काउन थालेको छ। वर्ल्ड ट्रेड सेन्टरको मूल गेट छेउमा रहेको मःम, पानीपुरी, चिया बेच्ने ठाउँ व्यवसायी आफैंले भत्काउन थालेका हुन्। 

बानेश्वरस्थित युएफओ ब्रान्डका कपडा र अन्य सामाग्रीको पसल रहेको ठाउँ पनि खुला गरिँदैछ। २ वटा तल्लामा व्यापार गर्दै आएको त्यहाँको अन्डरग्राउण्डमा पार्किङ खुलाउन लागिएको हो। 

युएफओको पसल रहेको भवनको अन्डरग्राउण्डमा महिलाका कपडा र ग्राउन्ड फ्लोरमा पुरुषका फेन्सी सामान बेचिन्थ्यो।

‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ सूचनामा भनिएको छ। 

काठमाडौं महानगरपालिकाले पार्किङका लागि हुनुपर्ने स्थान अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने गरी अनुमगन गरिरहेको छ। 

महानगरका अनुसार एउटा उद्धेश्यले बनेका संरचना हटाउने, हटाउन सूचना निकाल्ने र त्यो स्थानलाई बेसमेन्ट पार्किङकै रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

महानगरले व्यापारिक वा संस्थागत भवनको बेसमेन्ट पार्किङकै रुपमा प्रयोग गर्नुपर्ने जनाएको छ। 

काठमाडौंमा व्यवसायीले पार्किङका लागि बनाएका बेसमेन्टमा व्यवसाय गरी सडकमै पार्किङ गर्दै आएका थिए। महानगरले बिहीबार मात्रै बानेश्वरमा रहेको अल्फा बिटाले पार्किङस्थलमा व्यवसाय गरेको भन्दै डोजर लगाएको थियो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ समस्या समाधान हुने बताएको छ। 

ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) मीरा चौधरीले ट्राफिक व्यवस्थापनलाई सहज बनाउने प्रयास गरिरहेको बताएकी छन्। 

‘पार्किङका लागि छुट्याइएको ठाउँ पनि बन्द गरेर व्यापारिक प्रयोजनमा प्रयोग गरिएको भेट्यौँ’, उनले भनिन्, ‘ती अवैध संरचना हटाउन भनेका छौं। अटेर गरिएका स्थानमा हामी आफैं हटाउन लागिरहेका छौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .