NepalKhabar NepalKhabar

समाज


सडकमा उत्रेका द्वन्द्वपीडितको प्रश्न– हामी कसरी पीडक भयौं?

घाइते सुरक्षाकर्मी भन्छन् : राज्यको अपमानले छाती पोलिरहन्छ
सडकमा उत्रेका द्वन्द्वपीडितको प्रश्न– हामी कसरी पीडक भयौं?

राधिका अधिकारी
साउन २९ , काठमाडौँ

घरका कान्छा छोरा। दुःखजिलो गरेर चलेको परिवार। छोराछोरीलाई भरपेट खुवाउन मेलापात गर्नुपर्ने आमाको बाध्यता रामेछापका लक्ष्मीप्रसाद अधिकारीको आँखामा सानैबाट बिझायो। हुर्किँदै जाँदा उनले सपना देखे, ‘सेनामा भर्ती भएर शान्तिसेना जान्छु, आमालाई सुख दिन्छु।’

देश सशस्त्र संघर्षको भूमरीमा थियो। लक्ष्मीले सेनामा भर्ती हुन जाँदा आमाले गहभरी आँसु पारेर रोक्न खोजेकी थिइन्। तर, आमाको मुहारमा मुस्कान हेर्ने लक्ष्मीको बाटो आँसुले छेक्न सकेन। उनी २०५७ सालमा सेनाको राज दल गणमा भर्ती भए। 

तालिम सकिँदा सपनाको चाङ झन् ठूलो भएको थियो। राम्रो घर बनाउने सपना बोकेर सेनमा लागेका लक्ष्मीको काँधमा समग्र देशकै पनि सपना थियो। तर, उनले पटक्कै बोझ मानेनन्। भर्ती भएको छोटो समयमै उनले केही भिडन्त सामना गर्नुपर्यो। हरेक मुस्किलमा उनको एउटै संकल्प हुन्थ्यो, ‘देशको सेवा गर्छु, आमालाई सुख दिन्छु।’

तर, उनको सपनाले आकार लिन नपाउँदै संकटका दिन आए। लक्ष्मी धादिङको गजुरीमा कार्यरत थिए। २०६० असोज १ गते विशालटारमा माओवादी लडाकु र सेनाको भिडन्तमा उनी पनि परे। त्यही बेला गोली लाग्यो। गोलीले ढलेका लक्ष्मी होसमा आउँदा काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा थिए। लामो समय छाउनीमै उपचार चल्यो। त्यही झडपका कारण उनले बायाँ हात गुमाउन पुगे।

आमाको सुख र जिन्दगीको खुशी खोज्दै सेनामा भर्ती भएका लक्ष्मीका सपना हातसँगै काटिए। तर अझै पनि त्यही घाउले पीडा दिइरहन्छ। सरकारले लक्ष्मीजस्ता द्वन्द्वमा अपाङ्ग भएकाहरुलाई पीडक भनेर सम्बोधन गर्यो। उनीहरुलाई गोली हानेर अंगभंग गराउने माओवादी पक्षका मानिसलाई पीडित भनिदियो। सरकारको यो वर्गीकरणमा लक्ष्मी पीडकको समूहमा परे। लक्ष्मीलाई दुखिरहने घाउ यही सम्बोधन हो। उनलाई राज्यले पीडक भनिरहँदा आफ्नै शरीरको अंग गुमाएको भन्दा धेरै मन दुख्छ।

उनी सरकारको यो सम्बोधन फेरिएको हेर्न चाहन्छन्। यही चाहनाले उनी १७ दिनदेखि नयाँ बानेश्वरमा आन्दोलनरत छन्। उनी सरकारलाई प्रश्न गरिरहेका छन्, ‘म कसरी पीडक भएँ?’ 

यही कुराले उनी कहिले आक्रोशित हुन्छन्। कहिले मलीन सुनिन्छन्। ‘सरकारले जुन मोर्चामा जान भन्यो, हामी त्यहीँ गयौँ। सरकारको आदेशमा गोली पनि चलायौँ। हामीले हाम्रो खुशीले कसैको घरमा पसेर, कसैलाई जवरजस्ती गोली चलाएका होइनौं। बरु हामी सुतेको ठाउँमा माओवादीका मानिस आएर कयौं पटक हातपात गरेका छन्’, उनी भन्छन् ‘म सेनामा भएकै कारण आमाले सहनुपरेको मानसिक यातना कसरी महसुस गरूँ? जवानीमै हात गुमाएर कति कुरामा अरुको सहारा लिनु परेको छ। अब यो मेरो पीडा हो कि होइन? पीडित म हो कि मलाई गोली हानेर अंगभंग बनाउनेहरु?’

लक्ष्मीप्रसादलाई अहिले सरकारले पेन्सन बराबरको रकम दिन्छ। दुई सन्तान र श्रीमती साथमा छन्। आम्दानीको अर्को बाटो छैन। काठमाडौंमा बसेर उनले छोराछोरीलाई सरकारी स्कुलमा भर्ना गरेका छन्। पीडितको परिवारका लागि राहतका थुप्रै प्याकेज घोषणा गरेको सरकारले लक्ष्मी जस्ता योद्धाहरुको वास्ता गरेको छैन। परिवार धान्न मुस्किल छ। पीडक भनिएकैले उनका सन्ततिले राज्यको सुविधा लिन सकेका छैनन्। पीडित भनेर सम्बोधन गरेकाले भने सन्ततिका लागि सुविधा पाएको लक्ष्मी सुनाउँछन्। 

लक्ष्मीलाई सरकारले दिएको रकमसँग गुनासो छैन। देशका लागि लड्दा अपाङ्ग भए, तर पनि मन बुझाएका छन्। मुस्किलले गुजारा चलेको छ तर पनि असन्तुष्टि छैन। मकैको आटो, कोदोको ढिँडो पनि आधा पेट खाएर हुर्किएका उनलाई अभावहरूले पनि बिथोल्न सक्दैनन्। 

सानैमा बाबु गुमाएका लक्ष्मीका लागि आमाको खुशी नै सबथोक थियो। तर खुशी दिन सकेनन्, आफ्नाका अगाडि नदेखाए पनि उनलाई हेरेर उदास हुने आमाको पीडाले कति बिथोल्छ। सबैभन्दा धेरै बिथोल्छ सरकारको सम्बोधनले। उनीसँग राज्यका विभेदको लामो फेहरिस्त छ। 

सबै विभेदले उस्तै पोल्छ। तर सबै दुःख देखाउन, सुनाउन उनको मन पटक्कै मान्दैन। उनलाई त केवल सही सम्बोधन चाहिएको छ। सम्बोधनअनुसार राज्यले दिनुपर्ने सहायता चाहिएको छ। 

‘हामीले हेर्नुपर्ने कसलाई हो भनेर मेरो सरकारले किन बुझ्न सकेको छैन। देशका लागि लडेर जवानीमै अरुको सहारामा बाँच्दै गरेका हामीलाई पीडक भन्दै गर्दा भोलि राज्यका लागि पर्यो भने लड्नुपर्ने अन्य सैनिकको आत्मबल गिर्न सक्छ भनेर बेलैमा सोचोस्’, उनले  भने, ‘हामीलाई गर्ने सम्बोधनको शब्द फेरोस्।’
                                                                                 000

काठमाडौंका राजाराम केसीलाई खान लगाउन दुःख थिएन। परिवारको जिम्मेवारी पनि उठाइहाल्ने बाध्यतामा थिएनन्। बाबुआमा हट्टाकट्टा र स्वस्थ थिए। उनलाई सेनामा भर्ती भइहाल्नु पर्ने अवस्था पनि थिएन। तर सपनाको डोरीले तानेर नेपाली सेनामा पुर्याइछाड्यो।

उनी सेनामा भर्ती हुँदै गर्दा त्यति धेरै आकांक्षा पनि थिएनन्। त्यो समय नेपाली सेनालाई समाजले गर्ने सम्मान, सेनाका परिवारप्रतिको दृष्टिकोण र स्वास्थ्योपचारको सहुलियतले सेनाप्रति मोहित भएका राजाराम हिजोआज आफ्नै निर्णयलाई धिक्कार्छन्। 

२०५९ सालमा सेनामा भर्ती हुँदा उनी १८ वर्षका थिए। २०६० माघमा भएको बम विस्फोट हात गुमाए। एउटा आँखाको ज्योति पनि गयो। ओखलढुंगामा माओवादीले छाडेको बम डिस्पोजका लागि लैजाने क्रममा उनकै शरीरमा पड्कियो। लक्ष्मीको जस्तै उनी पनि होसमा आउँदा अस्पतालको बेडमा थिए। पहिलेजस्तो आँखाको ज्योति थिएन। उनकी आमा बिरामी भइरहन्थिन्। सेनामा भर्ती हुनुअघि उनले सोचेका थिए, सैनिक अस्पतालमा आमाको उपचार गर्छु। सुनेका थिए, ‘सेनाका आमा बाबुलाई सम्मानसाथ सैनिक अस्पतालमा उपचार गरिन्छ।’ तर १९ वर्षको उमेरमा उनका सबै सपना सकिए। तैपनि ‘देशका लागि लड्दा भएको क्षति भनेर मन बुझाए।’

लडाइँमा आँखाको ज्योति र हात गुमाएपछि राजारामले थुप्रै लाञ्छना र बचन सुन्नु पर्यो। जीवन धान्न गाह्रो हुन्छ भनेर आफन्तले विवाह गरिदिए। सुरुवाती दिनमा श्रीमतीकै दुव्र्यवहार सहनु पर्यो। उनको हात र आँखा हेरेर गाउँका केटाकेटी डराउँदै भाग्थे। 

यो सबै उनलाई द्वन्द्वले दिएको पीडा हो। अहिले पनि उनको दैनिकी सहज छैन। तर उनी सबै कुरा बिर्सिन तयार छन्। बिर्सिनै नसकेको त सरकारले पीडक भनेर गरेको सम्बोधन हो। 

राजारामलाई सरकारले दिएको सेवा सुविधासँग धेरै गुनासो छैन्। उनी भन्छन्, ‘हामी आफ्नो रहरले लड्न गएनौँ। कुनै नेपाली दाजुभाइलाई घरबाट थुतेर मारेका छैनौं। हामी कसरी पीडक भयौं? हामीले पाएको पीडा, पीडा हो की होइन। हामीलाई पीडा दिने कसरी पीडित भए?’ 

उनलाई त्यतिबेला युद्धमा सहभागी सेनालाई हतियारधारी र विद्रोहीलाई निशस्त्र बनाएको पनि चित्त बुझेको छैन। ‘उहाँहरूसँग हतियार थिएन भने शान्ति सम्झौतामा हतियार व्यवस्थापन गर्दै सरकारलाई हस्तान्तरण गरेको हतियार कहाँबाट आए?’, उनी आक्रोशित छन्, ‘हामीलाई किन दोषी करार गरियो?’ 

लक्ष्मी र राजाराम मात्रै होइन, देशभरका झण्डै १० हजार पूर्व सुरक्षाकर्मी यही सम्बोधनलाई लिएर आन्दोलनमा छन्। २०६३ साल मंसिर ५ गते गरिएको विस्तृत शान्ति सम्झौतापछि युद्धकालीन समयमा सरकारका तर्फबाट लडेका सुरक्षाकर्मीलाई बेवास्ता गरेको उनीहरुको आरोप छ। सरकारको सम्बोधनले युद्धमा लडेको एउटा पक्षलाई मात्रै चोख्याउने काम भएको भन्दै सडक संघर्ष गरिरहेका पूर्व सुरक्षाकर्मीहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधनको मागसहित दिएका झण्डै ६ हजार उजुरी लामो समयदेखि तामेलीमा राखेर न्याय नदिएको उनीहरुको आरोप छ। 

नयाँ बानेश्वरमा आन्दोलनको नेतृत्व सम्हालिरहेका पूर्वसुरक्षाकर्मी परिषद् नेपालका अध्यक्ष कोमल बहादुर राउतले आक्रोशित हुँदै भने, ‘सरकारको कर्तव्यपालना गर्ने क्रममा मृत्युवरण गरेका गरेका सुरक्षाकर्मीभन्दा राज्यविरुद्ध हतियार उठाउँदा मृत्यु भएका विद्रोहीलाई बढी सम्मान गर्ने विधेयक ल्याउनु कहाँको न्याय हो?’ 

उनले संघर्षका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीको सम्मान हुनुपर्ने बताएका छन्। ‘सत्य जाँचबुझ नगरी राज्यको तर्फबाट कर्तव्य पालनाको शिलशिलामा वीरगति प्राप्त सुरक्षाकर्मीको उच्च सम्मान हुनुपर्ने ठाउँमा पीडक बनाइएकाले संघर्षमा उत्रिएका हौँ’, उनले भने, ‘ राज्यद्वारा परिचालित सुरक्षाफौज कसरी व्यक्ति पीडक हुन् सक्छ? सरकारसँग गम्भीर प्रश्न छ। हाम्रो प्रश्नलाई सरकारले पनि गम्भीर रुपमा लिएर सम्बोधन सच्याओस्।’

उनले द्वन्द्वले कसैलाई फाइदा नगर्ने बताए। देशका लागि लडेका पूर्व सुरक्षाकर्मीका माग सम्बोधन गर्न पनि उनले आग्रह गरेका छन्। सरकारले संसदमा विधेयक पेस गर्दासमेत छलफल नगरेको उनको गुनासो छ। 

संघर्षमा रहेका पूर्वसुरक्षाकर्मीले पीडितहरुलाई मनोसामाजिक परामर्श, उचित राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। 

यसका साथै पुनर्स्थापना, आत्मसुरक्षा र आत्मसम्मान पनि चाहिने उनीहरुको एकै स्वर छ। तर पीडक भनेर झन् धेरै मानसिक पीडा दिइरहेको उनीहरुले बताए। आन्दोलनरत पूर्व सुरक्षाकर्मीले देशको कुनै पनि उचित स्थानमा ‘सशस्त्र द्वन्द्व शान्ति पार्क’ बनाउन पनि माग गरेका छन्। 

साउन २९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.