धनुषाबाट एक ट्राफिक प्रहरी सई घुससहित अख्तियारको फन्दामा परेका छन्।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित सखुवा महेन्द्रनगरबाट ट्राफिक प्रहरीका सई नवीनकुमार झालाई घुससहित पक्राउ गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले झालाई सोमबार साँझ पक्राउ गरेको हो।
ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट पुगेको टोलीले झालाई नियन्त्रणमा लिएको हो। ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै सई झाले ट्रिपर चालकसँग रुपैयाँ लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
ट्रिपर चालकसँग पटक–पटक पैसा माग्ने गरेपछि झाविरुद्ध अख्तियारको कार्यालयमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा अख्तियारको टोलीले अनुगमन गर्दा उनी घुससहित पक्राउ परेका हुन्। झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। रासस

प्रतिक्रिया