जापानको ओसाका उडानमा अझै पनि जापानी नागरिकले नेपाल एयरलाइन्सलाई विश्वास गर्न नसकेको वायुसेवा निगमका अधिकारीले बताएका छन्।
जापानीहरुले ६ महिना उडान भरेपछि मात्रै नेपाल एयरलाइन्समार्फत यात्रा गर्ने बताउने गरेको एयरलाइन्सका एक अधिकारीले बताए।
‘जापानीहरु २–३ महिनाअघि नै आफ्नो योजना बनाई टिकट बुकिङ गर्ने गर्छन्। तर नयाँ जहाजले उडान बन्द गरे पैसा उठाउन जाने झन्झटले टिकट नै काट्दैनन्’, ती अधिकारीले भने, ‘अहिले केहीले मात्रै नेपाल एयरलाइन्समार्फत यात्रा गर्ने गरेका छन्। नेपाली नागरिकको नै भर पर्नुपर्ने अवस्था छ।’
निगमका अधिकारीहरुका अनुसार अहिले ओसाका उडान नाफामा चलेको भए पनि नेपाली यात्रुको भरपर्दा फुल अकुपेन्सी हुन नसकेको बताएका छन्।
निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न सफल भएको छ। उनले नेपालखबरसँग भने, ‘अक्टोबरबाट दुईतर्फी यात्रुको सङ्ख्या बढेको छ। यात्रुको सङ्ख्या प्रतिउडान १५० देखि २ सयसम्म हुने गरेको छ।’
वाइडबडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले ओसाका उडानमा ७० प्रतिशत ओकुपेन्सी रहेको बताएको छ। नेपाल वायुसेवा निगमले ओसाका उडान भदौ १२ बाट सुरु गरेको हो।
दशै तिहारसँगै ओक्टोबर र नोभेम्बरमा जापान जाने विद्यार्थीको कारण कुनै समय ९५ प्रतिशतभन्दा बढी अकुपेन्सी हुने गरेको अर्का अधिकारीले बताए। उनले डिसेम्बर महिनामा सबै जहाजमा यात्रु कम हुँदा नेपाल एयरलाइन्समा पनि कमी हुनसक्ने बताए।
ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३३० २०० जहाजले साताको दुई दिन उडान भर्दै आएको छ। निगमले छिट्टै जापानको नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडान भर्ने तयारी गरेको छ।
टोकियोमा नेपालीको बसोबास बाक्लो भएकाले त्यहाँबाट निगमको व्यापार पनि राम्रो हुने अपेक्षाका साथ निगमले आवश्यक तयारी गरिरहेको छ।
निगमले हाल नौवटा अन्तर्राष्ट्रिय गन्तव्यमा आफ्नो उडान भर्दै आएको छ। निगमले अन्तर्राष्ट्रिय उडान सबै नाफामा रहेको समेत बताएको छ।

प्रतिक्रिया