हिउँद अर्थात् जाडो याम सुरु भएसँगै तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्ने क्रम बढेको छ।
मौसमविद्का अनुसार आज (सोमबार) बिहान धनगढी, विराटनगर, भैरहवालगायत आसपासका तराई भूभागमा सामान्य हुस्सु/कुहिरो लागेको छ।
पश्चिम तराईका थोरै स्थान तथा मध्य र पूर्वी तराईमा बिहानीपख हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। तर घाम लागेसँगै यो बिस्तारै हटेर जाने उनले बताए।
महाशाखाले पश्चिम तराईअन्तर्गत कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र नवलरासीलाई राखेको छ भने मध्य तराईअन्तर्गत चितवन, पर्सा, बारा, रूपन्देही, सर्लाही र धनुषालाई समेटेको छ। यसैगरी पूर्वी तराईअन्तर्गत महाशाखाले महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापालाई महाशाखाले राखेको छ।
मध्य भारतमा बनेको उच्च चापीय प्रणालीकाे प्रभावले नेपालको तराई क्षेत्रमा हुस्सु लाग्ने क्रम बढेको मौसमविद् प्रधानांगले जानकारी दिए।
बिहानीपख तराई क्षेत्रमा केहीबेर हुस्सु/कुहिरो देखिए पनि आज देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
मौसमविद् प्रधानांगका अनुसार आज धेरैजसो ठाउँमा घाम लाग्नेछ भने कतै वर्षा तथा हिमपाताको सम्भावना छैन।

प्रतिक्रिया