श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका एक व्यक्ति उदयपुर जिल्ला अस्पतालबाट बेपत्ता भएका छन्।
प्रसूतिको क्रममा पत्नीको मृत्यु भएपछि उनी बेपत्ता भएका अस्पताल स्रोतले जनाएको छ।
आइतबार त्रियुगा नगरपालिका–४ का प्रेम बुढाथोकी आफ्नी २६ वर्षीया श्रीमती सुष्मा बुढाथोकीलाई सुत्केरी व्यथा लागेपछि पत्नीलाई लिएर अस्पताल पुगेका थिए।
सुष्मा रगतमा हेमोग्लोबिन कम भएकाले प्रसूति गराउन खतरा रहेको डाक्टरले बताएका थिए।
पत्नीलाई कि जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले भनेपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म अस्पताल नफर्किएका जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. विजय मेहताले बताए।
बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी लागेका छन्।
आइतबार बेलुकी मात्र मृतक महिला खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका निवासी टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ।
गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार बुढाथोकी दम्पती त्रियुगा नगरपालिका–१२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएका थिए।
राईका अनुसार उनीहरुले भागी विवाह गरेका हुन्। बुढाथोकीले श्रीमतीलाई कोठामा राखेर अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नपाएका बताइएको छ।
नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए। प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम, थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ।
मृतक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरिएको जिल्ला अस्पतालका प्रमुख डा.मेहताले बताए।

प्रतिक्रिया