ad ad

समाज


अनशनस्थलबाट निहारिकाको प्रश्न–न्यायालयले मेरो मृत्यु चाहेको हो?

अनशनस्थलबाट निहारिकाको प्रश्न–न्यायालयले मेरो मृत्यु चाहेको हो?

राधिका अधिकारी
जेठ २९, २०७९ आइतबार १०:२३, काठमाडौँ

काखमा दूधे बालक। आँखै अगाडि आफ्नै बलात्कारी नर्धक्क हिँड्दाको छटपटी। कानुनी राज्यमा भएकाले न्याय पाउने हुटहुटी र आशा। सडक किनारमा बसेर न्याय गुहारिरहेकी १९ वर्षीया निहारिका राजपुत। बाटो हिँड्ने धेरैलाई उनको आवाज बुलन्द लाग्छ। न्याय मागिरहेकी निहारिकाको अनुहार नयाँ लाग्छ। तर धनुषाकी निहारिकाले यसरी न्याय माग्न थालेको साढे दुई वर्ष बितिसक्यो। न्यायका नाममा झन् धेरै अन्याय खेपेकी निहारिकाले न्याय पाउने आशा भने मारेकी छैनन्। 

उनी अहिले काठमाडौंको बसन्तपुरमा न्यायका लागि अनशनमा बसेकी छिन्। २०७६ साल कार्तिकमा आफ्नै साथीका दाजुले बलात्कार गरेको आरोपसहित न्याय मागिरहेकी निहारिकाको काखमा २१ महिनाको छोरा पनि छन्। 

उनले बलात्कार गर्ने साथीका दाजुले मन पराउने बताएका थिए। निहारिकाले उनको प्रेम प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन्। बलात्कार भएको दिन पनि उनकी साथीले निहारिकालाई सँगै पढ्न आफ्नो घरमा बोलाएको र सोही दिन खानेकुरामा नशालु पदार्थ पिलाएर बलात्कार गरेको निहारिकाको आरोप छ। निहारिका त्यतिबेला कक्षा ११ मा अध्ययन गर्थिन्। बलात्कार भएको समय आफ्नो उमेर १७ वर्ष रहेको निहारिकाले बताउँदै आएकी छिन्। 

बलात्कार भएको १ महिनापछि निहारिकाले आफू गर्भवती भएको थाहा पाइन्। त्यसयता उनी निरन्तर न्यायका लागि भौँतारिइरहेकी छिन्। बलात्कारपछि गर्भवती भएकी निहारिकालाई धेरैले बच्चा फाल्न सुझाएका थिए। तर, उनको मनले बच्चा फाल्न मानेन। उनले छोरालाई जन्म दिइन्। एक्लै छोरो हुर्काइरहेकी निहारिका अहिले आर्थिक चपेटामा परेकी छिन्। उनले आफूसँग कोठा भाडा तिर्ने र छोरालाई खुवाउने समेत पैसा नभएको बताएकी छिन्। 

न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेकी निहारिकालाई जिल्ला अदालत धनुषाले न्याय दिन सकेन। उल्टै आरोपीलाई सफाइ दियो। त्यसपछि न्याय खोज्न काठमाडौं आएकी निहारिका कहिले माइती घरको सडक पेटीमा त कहिले बसन्तपुरमा भेटिन्छिन्। उनले महिलाको हक/अधिकारको रक्षाका लागि गठन भएको महिला आयोगले पनि आफूलाई असहयोग गरेको आरोप लगाएकी छिन्।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी निहारिका ४ महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश देखिन्छिन्। गत शुक्रबारबाट न्यायका लागि आमरण अनशन सुरु गरेकी निहारिकाले माइतीघरबाट अनशन सुरु गरेकी थिइन्। तर माइतीघरमा अनशनरत निहारिकालाई रात परेपछि प्रहरीले बलजफ्ती उठायो। त्यसपछि उनको अनशनस्थल परिवर्तन भयो। 

निहारिका आफ्नो बच्चाको डीएनए परीक्षण गरी छोरालाई न्याय दिनुपर्ने मागसहित अनशनमा बसेकी हुन्। अनशनरत निहारिकाले बुँदागत रुपमा आफ्ना माग राखेकी छिन्। उनका माग यस प्रकार रहेका छन्

  •  मेरो बच्चाको डिएनए टेस्ट गरिनु पर्यो। काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम  फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन्? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुपर्‍यो।
  • उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो। न्यायलयले मेरो मृत्यु चाहेको हो? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो। 
  • मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्यो। 
  • घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनु पर्यो। हिजो मेरो फितालो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिुनपर्यो। उनीहरुमाथि पनि छानबिन हुनुपर्यो।
  •  मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्यो।

माथि उल्लेखित माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने निहारिकाले बताएकी छिन्। बलात्कृत भएपछि न्यायका जहाँ पुगेपछि आफूलाई हरेक ठाउँमा गलत बनाएको निहारिकाको गुनासो छ। 

उनी भन्छिन् ‘जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायलय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ, म मेरै घर परिवारबाट तिरस्कृत हुनुपर्‍यो । जसको परिणति आजको दिनमा साढे दुई वर्षदेखि काठमाडौंमा कोठा भाडा तिरेर बसिरहेकी छु।’ उनले न्यायप्राप्तिको दौडमा ज्यान मार्ने धम्की पनि खेप्नुपरेको बताएकी छिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .