ad ad

समाज


स्थानीय चुनावका शहीद विनोद, जो खेलाडी बन्न चाहन्थे

वृद्ध बुवाको हात छैन, बुढेसकालको लौरो भाँचियो
स्थानीय चुनावका शहीद विनोद, जो खेलाडी बन्न चाहन्थे

गोकुल जोशी
जेठ २५, २०७९ बुधबार ७:१३, कञ्चनपुर

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको मृत्युको खबरले विनायक शोकमग्न छ।

६५ वर्षीय वृद्ध बुवा बलबहादुर कलिलै उमेरको छोरा गुमाउँदा विक्षिप्त छन्। एक हात नभएका अशक्त बलबहादुरको बुढेसकालको सहारा खोसिँदा सम्हालिन सकेका छैनन्।

सामान्य परिवारका बलबहादुरका ५ छोरी र ३ छोरा थिए। मृतक विनोद माइला छोरा हुन्।

‘प्रहरीको डरले भाग्दा हराए’
पञ्चदेवल विनायक नगरपालिका–४ को त्रिदुक स्वास्थ्य चौकी मतदानस्थलमा ३० बैशाखमा एक जना एमाले निकट स्थानीयको मतदान गर्ने विषयमा एमाले र कांग्रेस कार्यकर्ताबीच विवाद उत्पन्न भयो। 

एमाले निकटका ती व्यक्तिले कांग्रेस कार्यकर्तालाई मतदान गर्न दिन थालेपछि एमाले कार्यकर्ताले रोक्न खोजेका थिए। प्रलोभनमा पारेर कांग्रेसले ती स्थानीयलाई आफ्नो पक्ष लैजान लागेको भन्दै स्वतन्त्र रुपले मतदान गर्न दिन भन्दै एमालेले रोक्यो। 

प्रहरीका अनुसार यसै विषयमा दुई पक्षबीच विवाद चर्किँदै गयो र झडपकै स्थिति सिर्जना भएको थियो। प्रहरीले हवाइ फायर नै गर्नु परेको थियो। झडपमा केही घाइते भए भने निर्वाचन पनि केही समय रोकियो। त्यसपछि सर्वदलीय बैठकले सहमति जुटाउँदै विवाद साम्य पारेपछि चुनाव भयो।

निर्वाचनपछि मतपरिणाम पनि सार्वजनिक भयो। तर, एमाले र कांग्रेस कार्यकर्ताबीचको विवाद रोकिएन। बरु, झनै बल्झियो।

चुनावमा प्रमुख, उपप्रमुख दुबै नेपाली कांग्रेसले एकलौटीरुपमा जित्यो । माओवादी दोस्रो, एमाले तेस्रो र एकीकृत समाजवादी तेस्रो बने ।  ९ वटा वडामध्ये ६ वटामा कांग्रेसले जित्यो । एमाले, माओवादी र एकीकृत समाजवादीले एक–एक वटा वडाध्यक्ष जिते । 

चुनावका दिनको विवादलाई लिएर मतदान सकिएकाे दुई सातापछि जेठ १६ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भयो।

१७ गते साँझ पनि फेरि दुवै पक्षबीच झडप भएको थियो। कांग्रेस कार्यकर्ताले प्रहरीलाई खबर गरेपछि १७ गते राति प्रहरी विनायक आइपुग्यो।

‘साथीभाइहरुसँग बसिराखेकाे थियाे, प्रहरी आएको थाहा पाएपछि भागाभाग चल्यो, पक्राउ पर्ने डरले अरु केटाहरुसँग भाइ पनि भागेको थियो,’ मृतकका दाइ निराजनले नेपालखबरसँग भने, ‘त्यसपछि सम्पर्कमा नै आएन।’

स्थानीय र परिवार मिलेर विनोदको यताउति खोजी गरे। तर उनको कतै पनि अत्तोपत्तो चलेन। विनोदको खोजीका लागि परिवारजनले प्रहरीलाई पनि गुहारे। उनीहरु मिलेर जंगलतिर खोज्न थाले।

जेठ २१ गते शनिबार बिहान विनोद कालिकास्थान स्थित कुच्चीको भीरमा उनी रगताम्य अवस्थामा मृत भेटिए। नेपाली कांग्रेसका कार्यकर्ताले उनको हत्या गरेर फालेको आरोप  पीडित परिवारले लगाएको छ। विनोदका बुवा एमाले समर्थक हुन्। ‘घाँटी माथिको भाग केही छैन, दाँत मात्रै देखिएका छन्, एउटा खुट्टाको तिघ्रामा मासु नै छैन, शरीरमा रगत नै रगत छ,’ निराजनले भने, ‘बीभत्स तरिकाले षड्यन्त्रपूर्वक हत्या भएको छ, सडकबाट शव भीरमा फालिएको छ।’

निराजनका अनुसार मध्यपहाडी लोकमार्गबाट शव करिब ५ सय मिटर तल भेटिएको छ। शव भेटिएको स्थानबाट ४/५ सय मिटरको दूरीमा मृतकले प्रयोग गर्ने मोबाइल पनि फेला परेको थियो। 

पञ्चदेवल विनायक–४ कालिकास्थान स्थित कुच्ची भिरको खोचमा मृत भेटिएका विनोदको शव अहिले पनि घटनास्थलमै छ। घटनाको सत्य, तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले प्रहरीलाई शव उठाउन दिएको छैन।

खेलाडी बन्ने सपना अधुरै
मृतक विनोद पञ्चदेवल विनायक नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्थे। उनी पढाइसँग खेलकुदमा अब्बल थिए। 

विनोद भलिबल खेल खेल्न रुचाउँथे। विभिन्न ठाउँमा भएका प्रतियोगितामा सहभागी भएर उनले भलिबलमा उत्कृष्ट पुरस्कार पनि पाएका थिए। 

भलिबल खेलाडी बन्ने उनको सपना थियो। ‘धेरै ठाउँमा गएर भलिबल खेल्थ्यो, हरेक प्रतियोगितामा उत्कृष्ट पनि हुन्थ्यो, ठूलो भएर खेलाडी बन्छु दाइ भनिराख्थो,’ निराजन भन्छन्, ‘गाउँमा अरुहरुलाई पनि भलिबल खेल्न सिकाउँथ्यो, आफैँ बल, नेट किनेर खेलाउने गर्थ्यो।’ 

भलिबल खेलाडी बन्ने सपना बुनिरहेका उनै विनोदको रहस्यमय मृत्यु भएको  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .