ad ad

समाज


मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की पीडित पुगिन् प्रहरीमा

मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की पीडित पुगिन् प्रहरीमा

यौन हिंसा आरोपमा पक्राउ परेका मनोज पाण्डे


नेपालखबर
जेठ ८, २०७९ आइतबार १६:५४, काठमाडौँ

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन्। 

आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी हुन्।

स्रोतका अनुसार शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई सम्पर्क गरेकी थिइन्। 

आइतबार उनले महाशाखामै पुगेर घटना बारे बताएको स्रोतले जानकारी दिएको छ। 

सोमबार पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाण्डौंमा उपस्थित गराउने भएको छ। 

अनुसन्धानका लागि सोमबार म्याद लिने तयारी गरेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए। 

‘अहिले हामी अनुसन्धान गरिरहेका छौं। घटनाका बारेमा धेरै कुरा अहिले नै भन्न मिल्दैन। कानुन अनुसार सबै प्रक्रिया अब अगाडी बढ्छ’, कुँवरले नेपालखबरसँग भने। 

यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्। 

उनले घटना सार्वजनिक गरेसँगै दोषीलाई तत्काल कारबाही गर्न सडकदेखि संसदसम्म आवाज उठेको थियो। 

त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न एसएसपी कुँवरको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ। 

शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध ती किशोरीले पनि सोमबार जाहेरी दिने तयारी गरेकी छन्। 

पाण्डेलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउने तयारी गरेको छ। 

यो मुद्दामा हद म्याद नहुने भएकाले प्रहरीले यही कसुरलाई मुख्य बनाउने र बन्धक बनाएको, नसालु पदार्थ खुवाएको र यौन शोषण गरेको पनि त्यही मुद्दामा खुलाउने भएको छ। 

बलात्कारको मुद्दामा एक वर्षभित्रमा उजुरी गर्नु पर्ने हद म्यादका कारण प्रहरीले अर्को विकल्प खोजेको हो। ८ वर्ष पहिले पाण्डेले यौन शोषण गरेको आरोप ती किशोरीको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .