समाज


पर्यटक पर्खंदै तनहुँसुर

पर्यटक पर्खंदै तनहुँसुर

कृष्ण न्यौपाने
मंसिर ९, २०७६ सोमबार ११:४९,

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। सरकारको यो घोषणालाई मूर्त रुप दिन जिल्लास्तरमा विभिन्न समिति, उपसमिति पनि गठन गरिएका छन्। नेपालका विभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धन गरी धेरैभन्दा धेरै पर्यटक सन् २०२० मा भित्र्याउने सरकारको लक्ष्य हो।

यो लक्ष्य पूरा गराउन जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरले पनि महत्वपूर्ण योगदान गर्न सक्ने देखिएको छ। प्रचुर पर्यटकीय सम्भावना बोकेको तनहुँसुरले पर्यटक पर्खिरहेको छ। प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको पर्याप्त प्रचार गर्न सकिए तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेमा स्थानीयवासी आशावादी छन्।

तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अपभ्रंस भएर रहेको भन्ने किम्वदन्ति छ। पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरो भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ।

ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक रुपमा धनी भएर पनि यो क्षेत्र ओझेलमा परेको स्थानीयवासी वीरबहादुर राना बताउँछन्। ‘तनहुँसुरको आफ्नै छुट्टै महत्व र विशेषता छ तर, यस ठाउँ ओझेलमा पर्दै गएको छ,’ राना भन्छन्, ‘प्रचारप्रसार गर्न सकिए यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनेमा द्विविधा छैन।’

तनहुँसुरको सेनवंशी राजाको दरबार भग्न अवस्थामा छ। सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौताराको पनि संरक्षण हुन नसकेको स्थानीयवासी रानाको गुनासो छ। ‘गद्दी चौतारामा बसेर राजाले भाषण गर्ने, निर्णय लिने र त्यसलाई जनताले कार्यान्वयन गर्ने चलन थियो भन्ने इतिहास छ’ रानाले भने।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ। यहाँका नेवार समुदायको हटिया अहिले रित्तिएको स्थानीयवासी बालकृष्ण श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बसाइँ सरेर गएका छन्।

तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ। पर्यटकीय सम्भावना बोकेको यस ठाउँको विकासका लागि व्यास नगरपालिकाले पहल थालेको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिए।

खड्काका अनुसार तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको स्तरोन्नतिलाई वडा कार्यालयले प्राथमिकतामा राखेर योजना अगाडि बढाएको छ। साथै यस ठाउँमा सहिद स्मृति पार्क समेत निर्माण गरिएको छ। विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका ६ जना शहीद भएका थिए।

तनहुँसुरमा सेनवंशी राजाको शासनकालमा सेनाले प्रयोग गरेको तोपको अवशेष, सेनवंशी राजाको समयको इनार, टुँडीखेल, कालिका मन्दिर, दरबार क्षेत्र आकर्षणका रुपमा रहेका छन्। साथै, तनहुँसुर दरबार, चण्डीथान, गद्दीचौतारा, साउने कुवा, राजाको पंधेरो, कुँडापानी, रानीपोखरी, धर्मशाला, भगवतीपानी मन्दिर पनि तनहुँसुरको आकर्षणको रुपमा रहेको छ।

यस्तो छ इतिहास

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएको तनहुँसुरबाट दमौली बसाइँ सरी आएका ८७ वर्षीय मोतीकुमार श्रेष्ठले आफ्नो पुस्तक ‘मोतीको माला’ मा उल्लेख गरेका छन्। पुस्तकमा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मरणोपरान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए। भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवाद चलेको पुस्तकमा उल्लेख छ।

पुस्तकमा उल्लेख भए अनुसार उक्त विवादमा दलभञ्ज्याङका रणभञ्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए। राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले लमजुङ नाम बन्न गएको किंवदन्ति रहेको छ।

तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन्। ‘तनहुँसुरको इतिहास चिन्नेहरुले तनहुँसुर कालिका मन्दिर र सेनवंशीय राजाको दरबार दुवै एउटै भवन थियो भनेर सहजै अनुमान गर्छन्, वास्तविकता पनि त्यही थियो,’ श्रेष्ठले भने, ‘हाल सेनवंशीय राजदरबार जीर्ण भएर भत्किसकेको अवस्थामा छ। दरबारको भग्नावशेष अहिले पनि यत्रतत्र भेटिन्छ।’

तनहुँसुर विशेषतः नेवार र मगरहरुको बस्ती बसेको स्थान हो। तनहुँसुरका प्रशासक भृङ्गीसेनले मणिमुकुन्द सेनको मरणोपरान्त तनहुँसुरमा स्वतन्त्र ठकु¥याइँ स्थापना गरेको र त्यही बेलादेखि हिन्दु संस्कृति परम्परा अनुसार तनहुँ कालिकामाईको पूजाआजा र बलि दिने परम्परातको शुरुआत भएको भनाइ छ। तनहुँसुर दरबारमा सरकारी तवरबाट बडादशै र चैतेदशैंमा दुर्गोत्सव पर्व धुमधामका साथ मनाउने परम्परा अहिले पनि कायम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad