समाज


बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

काशीराम शर्मा
मंसिर ४, २०७६ बुधबार ६:९,

बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन्। त्यसमा मुख्य, सहायक र साना छन्। ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ। बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन्।

यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन। जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेमा नौ सीमास्तम्भ गायव पारिएका छन्। जसमध्ये मुख्य चार र सहायक पाँच सीमास्तम्भ छन्। बाँके, बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ। करीब ६५ किलोमिटर बाँकेखण्ड र ८० किलोमिटर बर्दियाखण्ड रहेको छ। बाँके र बर्दियालाई स्थानीय मानखोला नदीले छुट्याएको छ।

नेपाल–भारत छुट्याउने बाँकेखण्डमा जम्मा ३०७ सीमास्तम्भ छन्। यसमा पनि मुख्य ३२ र सहायक २७५ सीमास्तम्भ छन्। जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगाएको छ। एउटा सीमास्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ। दुई सय ४६ सहायक सीमास्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ। तीन सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने देखिएको छ भने पाँच खोलाले बगाएको छ।

यस्तै बर्दियाखण्डमा ७२ सीमास्तम्भ मर्मत गर्नुपर्ने भएको छ। तीमध्ये ३१ मुख्य, ४० सहायक र सानो एउटा सीमास्तम्भ छन्। पुनःनिर्माण गर्नुपर्ने मुख्य सीमास्तम्भ चार वटा छन् भने सहायक १२ र साना ३१ सीमास्तम्भ रहेका छन्। यस्तै सात साहयक सीमास्तम्भ खोलाले बगाएको छ भने २५ साना सीमास्तम्भलाई पनि खोलाले बगाएको छ।

नापी विभागको रेकर्डअनुसार ४२ नम्बरको सीमास्तम्भ मानखोलादेखि ९८ नम्बरको सीमास्तम्भ कर्णाली नदीसम्म बर्दियाखण्ड हो भने मानखोलादेखि गुर्जेनगौरीसम्म बाँकेखण्ड पर्दछ। फेला नपरेका, पुनःनिर्माण, मर्मत गर्नुपर्ने काम सबै फिल्ड सर्वे टोलीले गर्दछ। फिल्ड सर्वेमा नेपाल– भारत दुवै देशका अधिकारी संलग्न रहन्छन्। फिल्ड सर्वे टोलीले पनि समयमा काम पूरा गर्न सकेको छैन। सर्वे टोलीले पूर्वदेखि काम थालेको बताइन्छ। नेपालतर्फ सीमानाकामा सशस्त्र प्रहरी बल नेपाल तैनाथ छ।

सशस्त्र प्रहरी चौकी १३ देखि करीब २० किलोमिटरको फरकमा स्थापना गरिएको । यो दूरी बाँके र बर्दियाकै हो। भारतले भने सशस्त्र सीमा बल ९एसएसबी०लाई करीब पाँच किलोमिटरको फरकमा तैनाथ गरेको छ। भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन। त्यसकारण भारतले नेपालतर्फको सीमानाकामा आफ्नो दबाब बढाउँदै लगेको स्थानीयवासीको भनाइ छ।

प्रत्येक एक÷दुई किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ। भारत सिमानाको बाँकेखण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ। सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छ। भातरतर्फ भने एसएसबीको बलियो उपस्थिति रहने गरेको छ। सशस्त्र प्रहरी बल नं ३० गण बागेश्वरीले नेपालगञ्ज भन्सार, कालाबन्जर, गङ्गापुर, नरैनापुर, सुइयालगायतका ठाउँमा सीमा सुरक्षाका लागि चौकी स्थापना गरेको छ।

‘हामीले दैनिकरूपमा सीमामा गस्ती गरिरहेका छौँ’, गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले भने, ‘सीमास्तम्भको अवस्था नियमितरूपमा अवलोकन गर्दै आएका छौँ।’ सीमामा दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्तीसमेत बेला–बेला हुन्छ। कतिपय बेला क्षेत्र तोकेरसमेत गस्ती हुने गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। ‘सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टसमा छलफलसमेत हुने गरेको छ’, उनले भने, ंप्रत्येक साता र आवश्यकताअनुसार नियमित पनि संयुक्त गस्ती हुने गरेको छ।’

सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमास्तम्भ मर्मत आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ। ‘हामीले सीमास्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको मात्रै हो, सीमा सुरक्षाकै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ, पाँच वटा युनिटबाट ६५ किलोमिटर हेर्नुपर्छ’, प्रहरी उपरीक्षक अधिकारीले भने। सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन्। उनी भन्छन्, ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा नियमित गस्ती गरिरहेको बताउछन्। ‘सीमामा नेपाली सुरक्षाकर्मी ‘एलर्ट’ छन्, सीमा क्षेत्रमा थप युनिट विस्तारका लागि हामीले पहल गरिरहेका छौँ’, उनले भने। बाँकेको महेन्द्रनगरमा सशस्त्र प्रहरी गणको मुख्यालय राखिएको छ।

सशस्त्रले सीमा सुरक्षासँगै अर्को युनिटले राजश्व चुहावट नियन्त्रणका लागि भन्सार, औद्योगिक सुरक्षा बलका रूपमा पनि जिल्लामा परिचालित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad